
विराटनगर । ताप्लेजुङमा केबलकार बनाउन नदिने पक्ष र गृह मन्त्रालयबाट गठित वार्ता टोलीबीच छ बुँदे सहमति भएको छ । मङ्गलबार अबेरसम्म भएको वार्ताबाट उक्त सहमति भएको हो ।
वार्ता टोलीका संयोजक प्रेम प्रसाद भट्टराई र वार्ता सहजिकरण समितिको तर्फबाट सरस्वती सिंगक (सरु)ले हस्ताक्षर गरेको विज्ञप्तिमा विभिन्न छ बुँदे सहमति भएको उल्लेख गरिएको छ ।
पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा मिति २०८१ माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने, सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने सहमति भएको छ ।
यस्तै २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरूको बिना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने सहमति भएको छ ।
मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने र वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न मिति २०८१ माघ २७ गते बिहान ११ बजे वार्तामा बस्ने सहमति भएको छ ।