संगालोखबर


विराटनगर । आज बिहानको राति २ बजे पाँचथरको जोरपोखरी-गोपेटार सडक खण्ड हुँदै एउटा एम्बुलेन्स सदरमुकाम फिदिमतर्फ जाँदै थियो । एम्बुलेन्स एक १८ वर्षीया सुत्केरीलाई लिएर जिल्ला अस्पताल हिँडेको थियो ।

तर पाथीभरामा केबलकार निर्माण प्रक्रियाको विरोध गरिरहेको ‘नो केबलकार’ समूहले मेची राजमार्ग अन्तरगत रहेको उक्त सडक खण्डमा रूख ढालेर अवरोध गरे । एम्बुलेन्स चालक नुपु शेर्पाले सोही समयको तस्बिर र भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । उक्त भिडियोमा सुत्केरी महिलाको चित्कार सुनिन्छ ।

Advertisement

हिलिहाङ-२ सिंहापुरदेखि जिल्ला अस्पताल लैजाँदै गरेको अवस्थामा सडक अवरुद्ध भएपछि केही समय सुत्केरी कल्पना जोगीसहित बिचल्ली परेका थिए । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाटो अवरुद्ध भएपछि पुनः गोपेटार फर्काइएको थियो ।

 

तस्बिर सौजन्य : नुपु शेर्पा/एम्बुलेन्स चालक

‘रुख ढालेर सडक अवरुद्ध भएको खबर चालकले प्रहरीलाई तत्कालै खबर गर्नुभयो’, जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता बिनालाल साहले संगालोखबरसँग भने, ‘त्यसको आधा घण्टामा स्थानीयको सहयोगमा प्रहरीले रूख हटाएर सडक खुलाएको थियो ।’

बाटो अवरुद्ध भएपछि एम्बुलेन्स गोपेटारको प्राथमिक स्वास्थ्य केन्द्रमा फर्किएको उनले बताए । बाटोको अवरोध हटेपछि प्रहरीले खबर गरेपश्चात् पुनः एम्बुलेन्स फिदिमतर्फ आएको उनको भनाइ छ । एम्बुलेन्स बिहान साढे आठ बजे फिदिम आइपुगेको उनले जानकारी दिए ।

‘नो केबलकार’ समूहले १५ माघदेखि मेची राजमार्ग र तमोर करिडोर बन्द गर्नुका साथै अरुण पूर्वका ९ जिल्लामा पनि अनिश्चितकालीन यातायात बन्द जारी राखेका छन् । बन्दका कारण पाँचथरमा अत्यावश्यक बाहेकका सवारीसाधन ठप्प नै रहेको प्रवक्ता साहले उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!