विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजले न्युरो इन्ट्रा-अप्रेटिभ एमआरआई प्रविधि भित्र्याएको छ । नेपालमै पहिलो पटक यो प्रविधि भित्र्याएको नोबेलले हजारौँ बिरामीको सफल उपचार गरिसकेको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरेर न्युरो सर्जरीको जटिलता न्यूनीकरण गर्दै सुरक्षित तथा प्रभावकारी शल्यक्रिया गर्न सफल भएको नोबेलको दाबी छ ।
यो प्रविधिले सर्जरीको क्रममा वास्तविक समयमा बिरामीको स्नायु प्रणालीको गतिविधि अनुगमन गर्न मद्दत गर्दछ । जसका कारण शल्यक्रिया गर्दा सम्भावित जटिलता न्यूनीकरण गर्दै थप सुरक्षित, प्रभावकारी र न्यूनतम जोखिमयुक्त उपचार सम्भव हुने अस्पतालले जनाएको छ ।
नोबेल मेडिकल कलेजका वरिष्ठ न्युरो सर्जन प्राध्यापक डा. प्रकाश काफ्लेको नेतृत्वमा यो प्रविधि सफलतापूर्वक प्रयोगमा ल्याइएको हो । उनका अनुसार न्युरो इन्ट्रा-अप्रेटिभ प्रविधिबाट ब्रेन ट्युमर, स्पाइनल इन्जुरी, पार्किन्सन्स, सेरेब्रल पल्सी, हाइड्रोसेफालस (टाउकोमा पानी जम्ने समस्या), हेड इन्जुरी, स्पाइनल ट्युमर, ब्रेन हेमरेज तथा रगत जमेको समस्या लगायतका गम्भीर न्युरो समस्याको सर्जरी सफलतापूर्वक गर्न सकिन्छ ।
यो प्रविधिमार्फत भर्खर जन्मिएका शिशुदेखि वृद्धसम्मका बिरामीहरूलाई न्यूनतम जोखिममा सफल उपचार गर्न सकिने जनाइएको छ । नेपाल र भारतका हजारौं बिरामीले यो प्रविधिबाट लाभ उठाइसकेका अस्पतालले जनाएको छ । आधुनिक प्रविधिसहितको उपचार सेवा प्रदान गर्दै आएको नोबेल मेडिकल कलेजले न्युरो सर्जरी क्षेत्रमा पनि उपलब्धि हाँसिल गर्न सफल भएको छ ।
नोबेल मेडिकल कलेज नेपाली कांग्रेसका नेता तथा सांसद डा. सुनिल शर्माको हो । सांसद शर्माले नेपालको सुदूरपूर्व देखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौं विपन्नलाई सेवा दिइरहेका छन् ।