विराटनगर । झापा र मोरङमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापाको कनकाई नगरपालिका-१ मा आज बिहान करिब साढे चार बजे भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
मे ४ प ९५० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर डाइभर्सनमा ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुरुङगाबाट बिर्तामोडतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा झापा गाउँपालिका-६ शरणामतीका ५० वर्षीय हरिप्रसाद उप्रेतीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी मोरङको उर्लाबारी नगरपालिका-३ मंगलबारेमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको को २८ प २२९३ नम्बरको मोटरसाइकलको ठक्करबाट मिक्लाजुङ गाउँपालिका-४ का अन्दाजी ७० वर्षीय फौदसिंह विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाटो क्रस गर्दै गर्दा उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । उनको उपचारका क्रममा मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-१० का १९ वर्षीय अजाद हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।