धनकुटा । धनकुटामा करिब सात हजार बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ । जिल्ला खोप समन्वय समिति धनकुटाले अभिमुखीकरण कार्यक्रम गर्दै खोप लगाउने बालिकाको सङ्ख्या सात हजार नजिक रहेको जानकारी दिएको हो ।
माघ २२ गतेदेखि फागुन ७ गते भित्र देशैभर कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समुहका किशोरीहरूलाई खोप लगाउने तालिका छ ।
धनकुटामा माघ २२ देखि २७ गतेसम्म सात वटै पालिकामा खोप अभियान संचालन हुनेछ । जसअन्तरगत छ हजार आठ सय ७२ जना बालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय धनकुटाकी जनस्वास्थ्य अधिकृत प्रतिमा खोयाहाङ्गले जानकारी दिइन् ।
कार्यक्रममा सहभागि सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले खोप कार्यक्रम सफल पार्न सहयोग गर्ने प्रतिवद्धता जनाए । सोही अवसरमा अवकाश लिएका महिला स्वास्थ्य स्वयंसेविकाहरू नगदसहित सम्मान गरिएको थियो भने उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गरिएको थियो ।