
विराटनगर । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर पहिचान पक्षधरले गरेको अनिश्चितकालीन यातायात बन्दको यातायात व्यवसायीले विरोध गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ इलामले आज एक विज्ञप्ति जारी गर्दै तीन दिनदेखि यातायात ठप्प हुँदा व्यवसायीहरू समस्यामा परेका जनाएको छ ।
बैङ्कबाट २६० प्रतिशतसम्म भन्सार शुल्क बुझाएर चर्को मूल्यमा ऋण लिएर खरिद गरेको गाडीको किस्ता बन्दका कारण बुझाउन नसक्ने अवस्था आएको विज्ञप्तिमा जनाइएको छ ।
यस्तै यातायात मजदुर र उनीहरूका परिवारलाई समेत दैनिक जीवनयापनमा समस्या परेको भन्दै बन्दकर्ताहरूलाई अविलम्ब यातायात सुचारु गर्ने वातावरण मिलाइदिन महासङ्घले आग्रह गरेको छ ।
यस विषयमा महासङ्घले सरकार र बन्दकर्ता गम्भीर भएर वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ ।