
विराटनगर । झापा नगरपालिका-४ ताराबारी चोकमा केबलको तार जोड्ने क्रममा जेसीबीको बकेटबाट खसेर एक जनाको मृत्यु भएको छ । निर्माणाधीन एसियन हाइवेमा जेबी टुण्डी कन्स्ट्रक्सनको जेसीबीको बकेटमा चढेर तार जोड्ने क्रममा लडेर सोही हाइवेमा काम गर्ने कामदारको मृत्यु भएको हो ।
प्रहरीका अनुसार रौतहटको चन्द्रनिगाहापुर-१० घर भएका २० वर्षीय सञ्जय महतोको उपचारका क्रममा मृत्यु भएको हो । बुधबार दिउँसो दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारी लगिएको थियो ।
चिकित्सकले करेन्ट लागेको भन्दै सामान्य उपचारपछि विराटनगरको नोबेल अस्पतालमा रेफर गरिदिएका थिए । उनको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जेसीबी चालक उर्लाबारी नगरपालिका-६ का ५६ वर्षीय शिव कुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।