विराटनगर । कोशी प्रदेश सरकारले पहिचानवादीहरूलाई वार्तामा आउन आह्वान गरेको छ । कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको मंगलबार बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो ।
केही दिनदेखि ताप्लेजुङ लगायतका क्षेत्रमा भइरहेको आन्दोलनलाई लिएर प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना नेतृत्वको समितिको बैठकले औपचारिक रूपमा वार्ताको आव्हान गरेको हो ।
केबलकार निर्माणमा असन्तुष्ट जनाउने पक्षहरूसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले बताए ।
प्रदेश सरकारले गत मंसिर २४ गते मन्त्री रानाको संयोजकत्वमा भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमल थापासहितको समिति बनाएको थियो ।