विराटनगर । विराटनगरको नोवेल मेडिकल कलेजमा उदयपुर जिल्लाका क्यान्सर रोगीहरूको निःशुल्क उपचार हुने भएको छ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माले उदयपुरका क्यान्सर पीडितको निःशुल्क उपचारको व्यवस्था मिलाएका हुन् ।
नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिका संयोजक नवराज अधिकारीले डा. शर्मासँग भेट गरी उदयपुर जिल्लाका सबै क्यान्सर पीडितहरूलाई निःशुल्क उपचार गराउन आग्रह गरेका थिए । सोही आग्रह अनुसार माघ १४ गतेदेखि फागुन महिनासम्म क्यान्सर पीडितहरूको निःशुल्क उपचार हुनेछ ।
क्यान्सरको प्रकृति हेरेर जति पटक सेक्न परेको खण्डमा रेडिएसनले सेक्ने र सो क्रममा दैनिक गर्नु पर्ने सिटी स्क्यान निःशुल्क गरिने छ । यो सुविधा लिन क्यान्सर रोग पहिचानपछि विपन्न नागरिक औषधी कोष अनुसारको सिफारिस लिएर आउनु पर्ने हुन्छ ।
शर्माले सामाजिक उत्तरदायित्व सम्झेर क्यान्सर रोगबाट पीडितलाई सेवा उपलब्ध गराएको बताए । आम नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएका डा. शर्माले उत्कृष्ट प्रविधिसहितको गुणस्तरीय क्यान्सर उपचारमा नयाँ आयाम स्थापित गर्न सफल भएका छन् ।
उनले हालसालै नोवेलमा रेडिएसन थेरापी सेवा सुरु गरेका छन् । तीन अर्ब ४० करोड रुपैयाँ लगानी गरेर नयाँ भवन, अत्याधुनिक प्रविधिसहित दक्ष जनशक्तिको व्यवस्था गरी नेपालमै क्यान्सरको सहज उपचार सेवाको सुरुआत गरेका हुन् ।
सांसद शर्माले नेपालको सुदूरपूर्व देखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौं विपन्न नागरिकलाई सेवा दिइसकेका छन् । शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन् ।
डा. शर्माले नोबेल मेडिकल कलेजमा आफ्नो निर्वाचन क्षेत्रका जनतालाई निःशुल्क क्याबिनको व्यवस्था गरिदिएका छन् । काठमाडौं मेडिकल कलेजमा पनि विपन्न नागरिकको निःशुल्क उपचार गरिदिँदै आएका छन् ।