विराटनगर । ताप्लेजुङमा यातायात बन्दको सामान्य प्रभाव परेको छ । ‘नो केबलकार’ पक्षसहित पहिचान पक्षधरले आजबाट गरेको अनिश्चितकालीन यातायात बन्दको सामान्य प्रभाव पारेको हो ।
बजार बन्द गराउँदै र हुलहुज्जत गर्दै हिड्ने प्रदिप मादेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलले जानकारी दिए ।
यातायात बन्द भएपनि स्कुल, बजार र कलकारखाना खुल्ला भएका उनको भनाइ छ । ‘सुरक्षा व्यवस्था मिलाएका छौँ, मोटरसाइकलहरू चलिरहेका छन्’, डीएसपी रावलले संगालोखबरसँग भने, ‘पाथीभरा दर्शन गर्न आएका दर्शनार्थीहरूका लागि स्कर्टिङको व्यवस्था मिलाइएको छ ।’
शनिबार पाथिभरा क्षेत्रको काफ्लेपाटीभन्दा एक किलोमिटरमाथि पहिचान पक्षधर र प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपमा प्रहरीले दमन गरेको भन्दै ‘नो केबलकार’ पक्ष र पहिचान पक्षधरले आजदेखि मेची राजमार्ग र तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ प्रवेश गर्ने नाकामा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन् ।