
विराटनगर । पहिचान पक्षधरले माघ १५ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । आज विज्ञप्ति जारी गर्दै मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा यातायात बन्द गर्ने उनीहरूले घोषणा गरेका हुन् ।
उनीहरूले विभिन्न मागसहित अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । उनीहरूले मानव अधिकार हनन गरी मुक्कुमलुङमा केबलकार बनाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
चन्द्र ढकालको ग्लोबल आइएमई बैंकका सबै शाखामा माघ १४ गते शान्तीपूर्ण धर्ना बस्ने उनीहरूले उल्लेख गरेका छन् । ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा भएका ग्लोबल आइएमई बैंक बन्द गर्नुपर्ने उनीहरूले माग राखेका छन् ।
यस्तै ढकाल र रुद्र पौडेललाई ताप्लेजुङ प्रवेशमा निषेध गर्ने, फुङलिङ नगरपालिकाका मेयर अमीर मादेनलाई ताप्लेजुङ जिल्ला बाहिर निषेध गर्ने र पाथीभरा क्षेत्र विकास समिति खारेज गर्नुपर्ने उनीहरूको माग छ ।
यस्तै ताप्लेजुङका सीडीओ र सशस्त्र प्रहरीका डिएसपीले सार्वजनिक रूपमा माफी माग्नु पर्ने र उनीहरूलाई कडा कारबाही हुनुपर्ने उनीहरूको भनाइ छ ।
राज्य आतंक, प्रहरी दमन र ज्यादती, केबलकार निर्माण खारेजी लगायतका विषयमा कोणसभा, धर्नालगायतका कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।