विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपमा घाइते भएका तीन जनालाई काठमाडौं लग्ने तयारी भएको छ । शनिबार पाथीभरा क्षेत्रको काफ्लेपाटीभन्दा एक किलोमिटर माथिको क्षेत्रमा ‘नो केबलकार’ समूह र प्रहरीबीच झडप भएको हो ।
झडपमा २६ जना घाइते भएका छन् । जसमा २१ जना सुरक्षाकर्मी र पाँच जना आन्दोलनकारी छन् । आन्दोलनरत पक्षले प्रहरीले पाँच जनालाई गोली हानेको दाबी छ ।
गोली लागेका मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको विराटनगर स्थित नोवेल अस्पतालमा उपचार भइरहेकोमा थप उपचारका लागि काठमाडौं लग्ने तयारी गरिएको हो ।
घाइते मध्ये धर्म पालुङ्वा, सगुन लावती र यामबहादुर लिम्बूलाई उपचारका लागि काठमाडौं लगिने भएको हो । मोरङका प्रमुख जिल्ला अघिकारी इन्द्रदेव्र यादवका अनुसार उनीहरू काठमाडौं लग्न लागिएको हो । सेनाको हेलिकप्टर मार्फत उनीहरूलाई काठमाडौं लगिने छ ।
पाथीभरा माता केबलकार कम्पनीले पाथीभरा क्षेत्रमा केबलकार निर्माण प्रक्रिया अघि बढाएपछि आन्दोलन चर्किएको हो । पहिचान पक्षधरले मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समितिलगायत गठन गरेर आन्दोलन गर्दै आएका छन् ।
कम्पनीले मंगलबारदेखि केबलकार निर्माणस्थलमा जमिन सम्याउन थालेपछि आन्दोलनकारी सो क्षेत्रमा केन्द्रीत भएका थिए । ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रवि रावलले आज सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । उनले संगालोखबरसँग भने, ‘आज बिहानै देखि सुरक्षाकर्मी परिचालन गरेका छौं । अहिले अवस्था सामान्य छ ।’