धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-३ स्थित युवा जनसहभागिता आधारभूत विद्यालयले स्थापना दिवस मनाएको छ । बिहीबार विद्यालयले खेलकुदसँगै विभिन्न सांस्कृतिक कार्यक्रम कार्यक्रम गर्दै ३९ औं स्थापना दिवस मनाएको हो ।
विद्यालयले आन्तरिकतर्फ कक्षा १ देखि ३ सम्म चम्चा दौड, कक्षा ४ देखि ५ सम्म हाजिरीजबाफ र कक्षा ६ देखि ७ सम्मका छात्राहरूको लागि बोरा दौडको आयोजना गरेको थियो ।
यसैगरी नगरभित्रका पाँच वटा विद्यालयलाई सहभागि गराएर विभिन्न प्रतियोगिता गराएको थियो । जसमा कक्षा १ देखि ५ सम्म अनुलेखन र कक्षा ६ देखि ९ सम्म लोकनृत्य प्रतियोगिता गरिएको थियो । अभिभावक महिलाहरूका लागि कुर्सी दौड र पुरुषहरूका लागि गिलास ढलाउने प्रतियोगिता गराइएको थियो ।
कार्यक्रमको उद्घाटन महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख रायले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नगरपालिका लागि परिरहेको बताए ।
उनले निजी विद्यालयमा विद्यार्थीको चाप बढिरहेको बताउँदै सामुदायिक विद्यालय पनि निजी भन्दा कम छैनन् भन्ने बनाउन आवश्यक रहेको उल्लेख गरे । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु दाहालले अभिभावकसँगको समन्वयमा शैक्षिक गुणस्तर कायम गर्न विद्यालय लागि परिरहेको उल्लेख गरे ।
उनले पढाइसँगै विद्यार्थीको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले विद्यालयमा केही भौतिक संरचना र खेल मैदानको अभाव हुँदा समस्या भएको उल्लेख गरे ।
विभिन्न प्रतियोगितामा उत्कृष्ट तथा विजेता विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि राय, विद्यालयका प्रधानाध्यापक टेकेन्द्र थापा, विव्यस अध्यक्ष दाहाल, तत्कालीन डाँडागाउँका उपाध्यक्ष चित्रमणी कार्की लगायतले पुरस्कार वितरण गरेका थिए ।