विराटनगर । उच्च माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आगामी माघ १० गतेदेखि खेल सप्ताह आयोजना गर्ने भएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै हिसानले खेल सप्ताहका बारेमा जानकारी गराएको हो ।
माघ १० गतेदेखि सुरु भएको खेल सप्ताह १६ गतेसम्म सञ्चालन हुने छ । गतवर्षबाट साबिकमा सञ्चालन गर्दै आएको बाहेक महिला फूटबल र कबड्डी थप गरेर गर्विलो सुरुवात गरिएको मोरङ हिसानका अध्यक्ष अमित ढकालले बताए ।
खेल सप्ताहमा महिला तथा पुरुष फुटबल र भलिबल, पुरुष क्रिकेट, बास्केटबल, कबड्डी, पुरुष तथा महिला टेबल टेनिस सिङ्गल र डबल, लामो तथा छोटो दुरीको दौड लगायत खेलहरू समावेश गरिएको छ ।
मोरङ जिल्लाका संस्थागत विद्यालय (कक्षा ११ र १२ समेत) मा अध्ययनरत ३० हजार विद्यार्थीबाट प्रत्येक विद्यालयले आन्तरिक प्रतिस्पर्धाबाट खेलाडीहरू छनौट गर्नेछन् । यस वर्ष पुरुष फुटबलमा २२ वटा टिम सहभागि हुने अध्यक्ष ढकालले जानकारी दिए । भलिबलमा १७ र क्रिकेटमा १३ टिमले सहभागिता जनाउने छन् ।
फुटबल र भलिबलमा प्रथम र दोस्रो हुने टिमलाई ट्रफी र प्रमाणपत्र, बास्केटबल, लामो तथा छोटो दुरीको दौड र टेबल टेनिसमा प्रथम, दोस्रो, तेस्रो र चौथो हुने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
क्रिकेट विराटनगर-१९ स्थित क्रिकेट रङ्गशालामा हुनेछ । फुटबल सहिद रङ्गशाला, भलिबल, कवड्डी, बास्केटबल डिपिएस स्कुल र टेबल टेनिस कभर्ड हलमा आयोजना हुनेछ । खेल सप्ताहमा ३० लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष ढकालको भनाइ छ ।