झापा । झापामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहान करिब ११ बजेतिर बुद्धशान्ति गाउँपालिका-४ हाफपाइन्ट चोकमा बोलेरो र अटो ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा अन्य तीन जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गणेश पौडेलले संगालोखबरलाई जानकारी दिए । चारआलीबाट इलाम तर्फ जाँदै गरेको प्र १-०१-००१ ज ३८५१ नम्बरको बोलेरो गाडी र विपरित दिशाबाट आउदैँ गरेको प्र १-०१-००२ ह ३६३ नम्बरको अटो एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा बुद्धशान्ति-४ की २७ वर्षीया अमृता तामाङको मृत्यु भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । दुर्घटनामा घाइते भएकी उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा बोलेरो चालक मेचीनगर नगरपालिपा-१२ का ४० वर्षीय दिल कुमार थामी, अटोमा सवार बुद्धशान्ति-४ की २१ वर्षीया कृतिका तामाङ, ४१ वर्षीया मन्जु तामाङ घाइते भएका छन् ।
उनीहरूको सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अटो चालक बुद्धशान्ति-४ कै ५३ वर्षीय अजय मोक्तानलाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान थालिएको छ ।