
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद हरि ढकालले नेता तथा कार्यकर्ताहरूलाई सङ्गठन बलियो बनाउन निर्देशन दिएका छन् । रास्वपा धनकुटाको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
‘पहिला पार्टी सङ्गठन मजबुत बनाउन लाग्नुपर्छ’, उनले भने, ‘त्यसपछि मात्रै चुनाव केन्द्रित हुनुपर्छ ।’ देशमा भ्रष्टाचार मैलाएको र त्यसको अन्त्य गर्न रास्वपा लागिपरेको उनको भनाइ थियो ।
भ्रष्टाचार न्यूनिकरणका लागि जिल्ला नेतृत्व पनि बलियो बनाउँदै जानुपर्नेमा उनको जोड थियो । निजी तथा सरकारी क्षेत्रमा समेत राजनैतिक हस्तक्षेप बढेको उल्लेख गर्दै ढकालले यस्तो विकृति रोक्न रास्वपा अग्र पंत्तिमा रहेको उल्लेख गरे ।
उनले विकास निर्माणका काम देखि विभिन्न क्षेत्रको सुधार गर्न सँधै खबरदारी गर्नुपर्ने बताए । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भूमिका खेल्नुपर्नेमा ढकालले जोड दिए ।
सह-प्रवक्ता मनिष झाले सङ्गठनलाई मजबुत बनाउँदै आगामी निर्वाचनका लागि तयारी गर्नुपर्ने बताए । ‘हामीले सदनमा आफ्नो जिम्बेवारी पुरा गरिरहेका छौँ’, झाले भने, ‘तपाईँहरूले पनि आफ्नो जिम्बेवारी पूरा गर्नुहुन्छ भन्ने विश्वास छ ।’
उनले जान्नेलाई छान्ने रणनीतिमा लाग्न समेत नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए ।

सन्तोष सुवेदी/संगालोखबर 













