झापा । झापाको दमक अस्पतालमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ सीले सुविधा सम्पन्न आइसीयु निर्माण गर्न सहयोग गर्ने भएको छ । स्थानीय लायन्स क्लब र दमक नगरपालिकाको सहभागितामा ३२५ सीले आइसीयु निर्माणमा सहयोग गर्ने भएको हो ।
३२५ सी का गभर्नर विकास अधिकारीका अनुसार लायन्स क्लब फाउन्डेसनले आइसीयु निर्माणका लागि बजेट छुट्याइसकेको छ । दमक अस्पतालमा आइसीयु अभाव हुँदा बिरामीहरूलाई धरान, विराटनगर तथा भद्रपुर रेफर गर्नुपर्ने अवस्था छ ।
सोही अवस्थाको मध्यनजर गर्दै आइसीयु निर्माणमा चासो देखाएको गभर्नर अधिकारीको भनाइ छ । आइसीयु निर्माणपछि यो समस्या हट्ने उनको विश्वास छ ।
आइसीयु भवन निर्माणका लागि झण्डै दुई करोड ५० लाख लागत लाग्ने अनुमान गरिएको छ । जसमध्ये लायन्स फाउन्डेसनले दुई करोड रुपैयाँ सहयोग गर्ने जनाइएको छ । ५० लाख रुपैयाँ स्थानीय लायन्स क्लब र नगरपालिकाले म्याचिङ फन्डका रूपमा जुटाउने छन् ।
सबै प्रक्रिया अन्तिम चरणमा पुगिसकेकाले चाँडै शिलान्यास गर्ने र बैशाख सम्ममा काम सकेर अस्पताललाई हस्तान्तरण गर्ने तयारी रहेको अधिकारीले जनाए ।