पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका-२ घुवाखोलामा मानसिक सन्तुलन गुमाएका व्यक्तिले घरमा आगो लगाइदिएका छन् । आज स्थानीय पञ्चबहादुर राईको फुसको छानो भएको घरमा तुम्बेवा गाउँपालिका-४ का रामचन्द्र राईले आगो लगाइदिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता बिनालाल साहका अनुसार आगजनीबाट सात लाख बराबरको क्षति भएको छ । आगजनीबाट एक घर, दुई वटा गोठ, घरमा राखिएको अन्नपात जलेर नष्ट भएको छ ।
आगजनी गर्ने राईको मानसिक अवस्था ठीक नभएको प्रवक्ता साहले जानकारी दिए । उनलाई प्रहरी चौकी दशमीले नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।