विराटनगर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५ को अवसरमा सांस्कृतिक पर्यटन तथा कृषि मेला आयोजना गरेको छ । स्थानीय कृषि उत्पादन, सांस्कृतिक परम्परा र पर्यटकीय गन्तव्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन मेला आयोजना गरिएको हो ।
माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने मेलाको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गर्नेछन् । उद्घाटनमा नाक्छोङहरूको मुन्दुमी प्रदर्शनी र जारोह ब्याण्डको साङ्गीतिक प्रस्तुति रहने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।
सोही अवसरमा भोजपुर र खोटाङका मन्त्री तथा सांसदहरूलाई समेत पर्यटन वर्ष र मुन्दुम पदमार्गको विषय समेटिएको अवधारणा पत्र बुझाइने कार्यक्रम तय गरिएको छ । मेलामा हरेक दिन विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् ।
माघ २ गते कवि मिल्सन राईको कविता वाचन, स्थानीय कृषि उत्पादन प्रदर्शनी तथा विभिन्न प्रतियोगिता हुने वडाध्यक्ष बस्नेतले बताए । प्रतियोगितामा सुन्तला, किबी, रायोे साग, मुला, तरुल, स्कुस लगायतका स्थानीय उत्पादन समावेश गरिने छ ।
माघ ३ गते खुल्ला साकेला शिली प्रतियोगिता हुनेछ । माघ ४ गते परम्परागत धनुवाण प्रतियोगिता हुनेछ । यसदिन चर्चित हास्य कलाकार मनोज गजुरेल, गायक भीषण मुकारुङ र गायक शिव परिवारको प्रस्तुती रहने छ ।
मेलाको अन्तिम दिन माघ ५ गते स्थानीय कला, साहित्य र सांस्कृतिक प्रस्तुति हुनेछ । सो दिन स्थानीय परिकारको प्रर्दशनी रहने छ । भोजपुरका प्राकृतिक सम्पदा, सांस्कृतिक पहिचान र स्थानीय उत्पादनलाई प्रवर्द्धन गरि यस क्षेत्रको पर्यटकीय गन्तव्यको प्रचारमा मेलाले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
मेलाले स्थानीय कृषि उत्पादन प्रवर्द्धन गर्ने र मुन्धुम ट्रेललाई विश्वभर चिनाउ महत्त्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताइन् । मेलामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको उनको भनाइ छ ।
भोजपुर, खोटाङ, र संखुवासभाको सिमानामा अवस्थित मुन्धुम ट्रेललाई विश्वभरि चिनाउने उद्देश्यले सन् २०२५ लाई ‘मुन्धुम ट्रेल भ्रमण वर्ष’ घोषणा गरिएको हो ।