धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-२ स्थित बालपञ्च माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो ।
बालविकास देखी कक्षा ९ सम्मका विद्यार्थीहरूलाई ट्रयाक सुट वितरण गरिएको वडाध्यक्ष चुडामणि पुलामीले बताए । चिसो मौसममा पनि पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले एक सय ५० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष पुलामीले जानकारी दिए ।
पाख्रीबास नगरपालिका प्रमुख ज्ञानबहादुर गुरुङले नगरभित्रका उत्कृष्ट सामुदायिक विद्यालय र शिक्षकलाई सम्मान गर्ने नीति लिएको बताए । साथै विद्यालयमा स्काउट विकास र स्काउट सम्बन्धी गतिविधिका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको उल्लेख गरे ।
बालपञ्च माध्यमिक विद्यालयबाट २०८० मा उत्कृष्ट हुने शिक्षक राजन खनाल र शिक्षिका उर्मिला देउजालाई सम्मान गरिएको थियो । यस्तै २०८० को एसइईमा उत्कृष्ट जिपिए ल्याउने छात्रा हेमा गान्छाकी मगरलाई नगद एक हजारसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
यस्तै समाजसेवी तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जङ्गबहादुर तामाङलाई सम्मान गरिएको छ । सिंह बहादुर बरुवाल स्मृति अक्षयकोषबाट कक्षा ७ मा अध्ययनरत छात्रा सोफिया तामाङ र सुजता स्मृति अक्षयकोषबाट कक्षा ८ मा अध्ययनरत छात्रा रश्मि श्रेष्ठ र इच्छा रानालाई नगद एक/एक हजारले सम्मान गरिएको विद्यालयका सूचना अधिकारी चेतन खनालले जानकारी दिए ।
यसैगरी विभिन्न सांस्कृतिक कार्यक्रम तथा खेल प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।