संगालोखबर


ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा केबलकार खारेजीको माग गर्दै मुक्कुम्लुङ संरक्षणकर्ताहरूले आन्दोलन चर्काएका छन् । केबलकार खारेज हुनुपर्ने, तीनजना मुक्कुम्लुङ संरक्षणकर्मीहरूलाई रिहा गर्नुपर्ने, नाम्जाङ्गे (तल्लो फेदी) बाट सशस्त्र र जनपद प्रहरी फिर्ता हुनुपर्ने मागसहित विभिन्न संघ-संगठनहरूले आन्दोलन चर्काएका हुन् ।

नाम्जाङ्गेमा पक्राउ परेका जनम लिम्बू, सुशील लिम्बू र सन्जोग लिम्बूलाई रिहा तत्काल रिहा गर्नुपर्ने मागसहित संरक्षणकर्मीहरूले आजबाट अनिश्चितकालीन बन्द आह्वान गरेका छन् ।

Advertisement

ताप्लेजुङ, पाँचथर, इलाम र झापामा पर्चा वितरण गर्दै आजबाट मेची राजमार्ग र तमोर करिडोरभित्र अनिश्चितकालका लागि यातायात बन्द गर्ने घोषणा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता विवेक बस्नेतका अनुसार ताप्लेजुङमा बन्दको सामान्य प्रभाव परेको छ । ‘पाँच/छ वटा गाडीलाई स्कर्टिङ गरेर तीर्थालुहरूलाई पाथिभरा पुर्‍याइयो’, प्रवक्ता बस्नेतले संगालोखबरसँग भने, ‘बन्दको सामान्य प्रभाव परेको छ । छिटफुट मोटरसाइकल चलेका छन् । त्यस्तो अराजक गतिविधि भएको छैन ।’

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता बिनालाल साहका अनुसार पाँचथरमा पनि बन्दको प्रभाव परेको छ । ‘मेची राजमार्गमा फाटफुट मात्रै सवारी साधन चलेका छन्’, ‘साहले संगालोखबरसँग भने, ‘बन्दको प्रभाव परेको छ । तर कुनै अराजक गतिविधि भएको छैन ।’

इलाममा पनि बन्दको सामान्य प्रभाव परेको छ । ‘फाटफुट रूपमा सवारी साधन चलिरहेका छन्’, जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता मानबहादुर राईले संगालोखबरसँग भने, ‘त्यति धेरै नभएपनि बन्दको सामान्य प्रभाव परेको छ ।’

झापामा बन्दको प्रभाव खासै नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ‘हिजो बेलुका तिर बिर्तामोडमा कोणसभाहरू भएको थियो’, जिल्ला प्रहरी कार्यालय झापाका इन्स्पेक्टर मिनेङ्गी तामाङले भनिन्, ‘आज खासै केही भएको छैन । बन्दको प्रभाव परेको छैन ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!