विराटनगर । गाउँपालिका अध्यक्षमा निर्वाचित भएको एक महिना नबित्दै मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी विवादमा मुछिएका छन् । गत मंसिर १६ गते सम्पन्न उपनिर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका माओवादी नेता माझी अवैध माटो उत्खनन गर्नेलाई संरक्षण गर्न लागिपरेको भन्दै आलोचित भइरहेका छन् ।
अवैधानिक रुपमा भइरहेको माटो उत्खनन रोक्न प्रहरीलाई पत्र पठाउँदा अध्यक्ष माझीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई स्पष्टीकरण सोधेका छन् । ग्रामथान गाउँपालिका वडा नं. १ र २ को सीमा क्षेत्रमा अवैध रुपमा माटो उत्खनन भइरहेको गुनासो आएपछि गाउँपालिकाका उपाध्यक्ष गुणवतीदेवी थारू र प्रमुख प्रशासकीय अधिकृत पौडेलसहितको टोलीले स्थलगत अनुगमन गरेको थियो ।
अनुगमन समिति संयोजकसमेत रहेकी उपाध्यक्ष थारूको नेतृत्वमा गएको टोलीले अवैध उत्खनन भएको निष्कर्ष निकालेपछि प्रमुख प्रशासकीय अधिकृत पौडेलले उत्खनन रोक्न र संलग्नलाई कारबाही गर्न भन्दै झोराहाट प्रहरी चौकीलाई पत्र पठाएका थिए ।
सोही पत्रको विषयमा प्रमुख प्रशासकीय अधिकृत पौडेललाई स्पष्टीकरण सोधेपछि अध्यक्ष माझीको चौतर्फी आलोचना भएको हो ।
आलोचना बढेपछि अध्यक्ष माझीले विराटनगरमा पत्रकार सम्मेलन गरेर आफ्नो बचाउ गरेका छन् । उनले अवैध उत्खनन रोक्नुपर्छ भन्ने पक्षमा आफू भएपनि आफूसँग समन्वय नगरी पत्र पठाइएकाले स्पष्टीकरण माग गरेको तर्क गरेका छन् ।