विराटनगर । मोरङ र उदयपुरबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका-४ मा लागूऔषध बिक्री भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पाँच जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । ट्रामाडोल र स्पास्मो आठ सय ७७ ट्याब्लेटसहित सोही स्थानका ३१ वर्षीय बिनय सुनुवार, ३४ वर्षीय हरि कृष्ण राई, २६ वर्षीय करण लिम्बू, २२ वर्षीय विशाल तामाङ र २० वर्षीय बिकेश तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै विराटनगर-१५ बाट बेलबारी नगरपालिका-२ का ३७ वर्षीय सन्तोष पौडेल तीन ग्राम १६ मिलिग्राम ब्राउन सुगर र २० चक्की नाइट्राजामसहित पक्राउ परेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरूका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।