संगालोखबर


इलाम । इलामको फाकफोकथुम गाउँपालिका-३ सल्लेरीमा खानेपानीको हाहाकार छ । हिउँद लागेसँगै खानेपानी जोहो गर्न स्थानीयलाई धौ-धौ हुन्छ । पानी जोहो गर्दैमा उनीहरूको बिहान बित्छ ।

सल्लेरी गाउँमा ९० घरपरिवारको बसोबास छ । उनीहरू झिसमिसेकै डोकोमा गाग्री र बोतलहरू बोकेर पानी जोहो गर्न तर्फ लाग्छन् । सोही स्थानका पृथ्वी प्रसाद भण्डारीका अनुसार पानीको अभावले गाउँमा समस्या भएको छ । सरकारले ठूला आयोजना ल्याइदेला र आँगनमा नै धारो बनाउन पाइएला भन्ने उनीजस्तै अन्य गाउँलेको पनि चाहना छ ।

Advertisement

गाउँमा पानीको स्रोत नभएका कारण टाढाबाट पानी जोहो गर्नु उनीहरूको बाध्यता हो । केही स्थानीयले भने छिमेकी गाउँबाट निजी लगानीमा घरमा धारा ल्याएका छन् । त्यो बाहेक सबैले गाग्रीमा पानी ओसार्नुपर्ने बाध्यता जस्ताको त्यस्तै छ । बर्खामा भने आकाशे पानी थापेर प्रयोग गर्ने हुँदा हिउँदमा जस्तो समस्या नहुने स्थानीयको भनाइ छ ।

स्थानीय वेद प्रसाद पाण्डेका अनुसार हिउँदमा खानेपानीको अभावले धेरै सताउने गरेको छ । उनको पनि घरमा पानीको धारा बनाउने सपना पूरा हुन सकेको छैन । सोही गाउँमा रहेको सल्लेरी प्राथमिक विद्यालयमा भएको एउटा धारामा समेत पानी आउँदैन । जसका कारण विद्यार्थीहरूले पनि घरबाटै बोतलमा पानी लिएर जानुपर्ने बाध्यता छ । खानेपानीको मात्रै नभएर विद्यालयमा शौच गर्न पनि समस्या छ ।

प्रधानाध्यापक तारादेव नेम्वाङका अनुसार गाउँमा पानीको अभावले धेरै नै सताएको छ । यसको प्रत्यक्ष असर विद्यालयमा पनि परेको छ । टिफिनको समय सदुपयोग गर्दै विद्यार्थीहरूले टाढाबाट पानी ल्याउँछन् र शौचालयमा प्रयोग गर्छन् । तीनै तहको सरकारले खानेपानीको दिगो व्यवस्थापन गरिदिएमा आफूहरूको प्रमुख समस्या हल हुने स्थानीयको भनाइ छ ।

स्थानीय भगिरथ भण्डारीका अनुसार तीनै तहको सरकारले खानेपानी समस्या समाधान गर्न चासो देखाएको छैन । यसै स्थानबाट जितेर गएका जनप्रतिनिधिले पनि यस विषयलाई चासोका साथ नहेरेको उनको बुझाइ छ । पानी अभावमा खाना पकाउन, लुगा कपडा धुन, गाईवस्तुलाई खुवाउन, सरसफाइ गर्न समेत समस्या भएको स्थानीय बताउँछन् ।

फाकफोकथुम-३ का वडाध्यक्ष दीपेन्द्र लिम्बूका अनुसार यस स्थानको खानेपानी समस्या समाधानका लागि काम सुरु भइसकेको छ । पुरै वडामा पानी पुर्याउने गरी ८२ लाख लागतमा रिजर्भ ट्याङ्की निर्माण गरिसकिएको उनको भनाइ छ । उनका अनुसार यो वर्ष पाइप विस्तारको काम अघि बढ्ने छ । सल्लेरीमा जस्तै आमचोक बजार र खत्री गाउँको समस्या पनि उस्तै छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!