विराटनगर । खोटाङमा आफन्तको घर हिँडेकी १३ वर्षीया नाबालिकासँग विवाह गर्ने र बालविवाह गराउन सहयोग गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । बाटोमा रोकेर ललाइफकाइ विवाह गर्ने उनीहरूलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो ।
बालिकाको आफन्त पर्नेको संलग्नतामा पुस ८ गते २८ वर्षीय युवकसँग विवाह भएको थियो । विवाह गर्ने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउने बालिकाको आफन्त कमला राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।
विवाह गर्ने रमेशलाई पुस १२ गते र कमलालाई पुस १३ गते पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ परेका दुवै जनाविरुद्ध बालविवाहसम्बन्धी कसुर अन्तर्गतको मुद्दा चलाइएको उनको भनाइ छ ।
‘अनुसन्धानका लागि पाँच दिनको म्याद थपिएको छ’, उनले संगालोखबरसँग भने, ‘दुबै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।’ कक्षा-८ मा अध्ययनरत बालिकालाई उद्धार गरेर जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको उनले बताए ।