विराटनगर । प्रदेश सरकारले कोशी पर्यटन वर्ष २०८२ को तयारीलाई तिव्रता दिएको छ । पर्यटन वर्ष सफल बनाउँन विराटनगरमा आइतबार सचिवालय उद्घाटन गरेर काम अघि बढाइएको हो ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले सचिवालय उद्घाटन गरेका छन् । मन्त्री मण्डलकै संयोजकत्वको सचिवालयमा भविशकुमार श्रेष्ठ र कृष्णकुमार साहलाई सह-संयोजकको जिम्मेवारी दिइएको छ । पर्यटन गतिविधिलाई अघि बढाउदै पर्यटक आकर्षित गर्ने लक्ष्यका साथ सचिवालयले काम सुरु गरेको छ ।
गत असोज ११ गते विराटनगरमा कार्यक्रम गरेर प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्ष मनाउँने घोषणा गरेको छ । प्रदेश सरकारले २०८२ मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भारतीय पर्यटकलाई आकर्षित गर्ने प्रदेश सरकारको योजना छ । विशेषगरी भारतको सिक्किम, विहार र उत्तर प्रदेशबाट पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको छ ।
पर्यटन वर्षको तयारीका लागि प्रदेश सरकारले १० करोड बजेट विनियोजन गरेको छ । कर्मचारी व्यवस्थापनदेखि भौतिक पूर्वाधार निर्माण लगायत काममा यो बजेट खर्च हुनेछ । २०८२ वैशाख १ गते पर्यटन वर्षको औपचारिक उद्घाटन गरिनेछ ।
लालीगुराँसको राजधानी भनेर चिनिने तेह्रथुम र संखुवासभाको सीमा क्षेत्र तीनजुरे मिल्केमा प्रधानमन्त्री केपी शर्मा ओली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्षको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।