संगालोखबर
फाइल तस्बिर

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । अत्यधिक चिसो बढेसँगै सदरमुकाम सल्लेरीको तापक्रम माइनसमा झरेको छ । हावापानी मापन केन्द्रका अनुसार सल्लेरीमा हिजो बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको थियो ।

तापक्रम माइनसमा झरेसँगै स्थानीयको दैनिकी समेत प्रभावित बनेको छ । अहिले सल्लेरी क्षेत्रका  मानिस आगो तापेर बस्न थालेका छन् । चिसोले घरभित्र बस्नसक्ने अवस्था नरहेको स्थानीय निरकुमार नेपालीको भनाइ छ ।

Advertisement

केही दिनदेखि स्थानीयले घाम समेत देख्न पाएका छैनन् । चिसोले विशेष गरी बालबालिका, वृद्धवृद्धा तथा अशक्त बढी मारमा परेका छन् । चिसो बढेसँगै जिल्ला अस्पताल फाप्लुमा बिरामीको चाप पनि बढेको छ । एक सातायता अस्पतालका सबै शय्या श्वासप्रश्वास र नसासम्बन्धी रोगका बिरामीले भरिएका अस्पतालले जनाएको छ ।

चिसोको असर हिमाली क्षेत्र खुम्बुमा झन बढी देखिएको स्थानीयको भनाइ छ । खुम्बुमा पछिलो समय न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियस भन्दा तल पुगेको छ । चिसोका कारण विद्यालय समेत बन्द गरिएको छ ।

चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय जाडो छल्न अन्यत्र गएका छन् । स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधारणले खुम्बु छाडिसकेका छन् ।

भौगोलिक विकटता तथा उच्च हिमाली क्षेत्र भएकाले जाडोयाममा यो क्षेत्रमा बसोबास गर्न समस्या हुनेगरेको स्थानीयको भनाइ छ । चिसो बढेसँगै खुम्बु क्षेत्रमा पाइपमै पानी जम्न थालेको छ ।

जसबाट पानी आपूर्तिमा समस्या भएको छ । जमेको पानी नपग्लिदा  खुम्बुका विभिन्न ठाउँमा खानेपानी आपूर्ति बन्द भएको स्थानीय माया शेर्पाको भनाइ छ । यो क्षेत्रको तापक्रम घटेर माइनस १७ डिग्री सेल्सियससम्म झर्ने गरेको छ । चिसोका कारण यस क्षेत्रको हरेक गतिविधि प्रभावित भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!