सन्तोष सुवेदी/संगालोखबर
क्यान्टिन अनुगमन गरिदै ।

धनकुटा । धनकुटा बजार क्षेत्रका विद्यालय र पसलको अनुगमनका क्रममा कैफियत भेटिएको छ । आज सात नम्बर वडाका विद्यालय र पसलको अनुगमनका क्रममा यस्तो भेटिएको हो ।

वडा कार्यालय र नगर प्रहरीको टोलीले गरेको अनुगमनका क्रममा विद्यालयको चमेना गृहमा सरसफाइको कमी पाइएको छ । यस्तै शौचालयमा सरसफाइ नभएको र आवश्यक सामग्री समेत नराखेको पाइएको हो ।

Advertisement

विद्यालयमा सेनेटरी प्याड व्यवस्थापन तथा विसर्जनका लागि समस्या पाइएको थियो । यसतर्फ विद्यालय प्रशासनले ध्यान नदिएको भन्दै अनुगमन टोलीले ध्यानाकर्षण गराएको छ ।

विद्यालयमा कक्षा कोठाको बसाइ व्यवस्थापनमा ध्यान नदिएको र स्वच्छ खानेपानीको अभाव भेटिएको थियो । यसैगरी कक्षा कोठाका झ्याल, ढोका र प्रवेशद्वार सुरक्षित नभएको अनुगमन टोलीले भेट्टाएको थियो ।

विद्यालयमा राष्ट्रिय झण्डा नराखेको र सवारी साधनको भाडादर फरक-फरक पाइएको थियो । अनुगमन टोलीले यस विषयमा ध्यानाकर्षण गराउँदै सुधार गर्न विद्यालय प्रशासनलाई सुझाव समेत दिएको छ ।

वडाध्यक्ष रोशेष श्रेष्ठले कमिकमजोरी सुधार नगरे जरिवाना गर्ने बताए । निजामती आवासीय विद्यालय, तमोर भ्याली सेकेन्डरी बोर्डिङ स्कुल, डिज्नी वल्ड बोर्डिङ स्कुल, त्रिवेणी माध्यमिक विद्यालय र तुलसी मेयर मेमोरियल इङ्ग्लिस स्कुल गरी वडाभित्र सञ्चालनमा रहेका पाँचवटा विद्यालय र आसपासका पसलहरूको अनुगमन गरिएको उनले जानकारी दिए ।

विद्यालयबाट करिब एक सय मिटर आसपासमा रहेका पसल तथा होटलको अनुगमन गर्दा विभिन्न कैफियत पाइएको छ । मदिरा, सुर्तिजन्य पदार्थ र जङफुडलगायतका बस्तु बेच्ने गरेको पाइएपछि अनुगमन टोलीले होटल तथा पसललाई सुधार गर्न निर्देशन दिएको छ ।

आगामी दिनमा यसप्रकारका बस्तु बिक्री नगर्न निर्देशन दिएको नगर प्रहरी सहायक निरीक्षक रवि खत्रीले बताए । अटेर गरेको खण्डमा सामान जफतसँगै जरिवाना गरिने उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!