ताप्लेजुङ । पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल अघि बढाउने भइएको छ । पाथीभरा क्षेत्र विकास समितिको हिजो बसेको बैठकले पाथीभरालाई विश्व सम्पदामा सूचीमा सूचिकृत गर्ने पहल अघि बढाउने निर्णय गरेको हो ।
पाथीभरा क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले पाथीभरा मन्दिर विश्व सम्पदा सूचीमा सूचिकृत हुन सक्ने सम्भाव्यता बोकेको क्षेत्र र पर्याप्त विशेषता भएकोले पहल अघि बढाइएको बताए ।
फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पाथीभरा क्षेत्र विश्व सम्पदा सूचीमा समावेश हुन सक्ने विशेषताले भरिपूर्ण रहेको उल्लेख गरे । उनले सूचीकृतका लागि पहल अघि बढाउनु सकारात्मक भएको बताए ।
पाथीभरा मन्दिरले धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्व बोकेकाले यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न चाहिने आवश्यक प्रक्रिया अघि बढाउने निष्कर्ष निकालिएको समितिले जनाएको छ ।
यस्तै मन्दिरमा चढाइएका घण्टीलाई आवश्यक व्यवस्थापन गर्ने समेत समितिले निष्कर्ष निकालेको छ । पाथीभरालाई थप व्यवस्थित गर्नका लागि गुरु योजना निर्माण गरी अघि बढाउने निर्णय समेत भएको समितिका अध्यक्ष रक्की थेवेले जानकारी दिए ।
पाथीभरा मन्दिर परिसरमा रहेको हेलिप्याड पनि सार्ने निर्णय गरिएको छ । हेलिप्याड गेट भन्दा बाहिर सार्ने निर्णय भएको अध्यक्ष थेवेले बताए ।