ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका-६ बतासेमा खुल्ला क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । ताप्लेजुङ स्पोर्टिङ क्लबले गुरुङ समुदायका मार्गदर्शक तथा समाजसेवी स्व. पदम बहादुर गुरुङको स्मृतिमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
पुस ११ देखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने खेल संयोजक पब्लिक गुरुङले जानकारी दिए । प्रतियोगिता निङ्मा छ्योखोर्लिङ बौद्ध गुम्बा स्थित लक्ष्मीटारको खेलमैदानमा हुनेछ ।
तमु ल्होसारको अवसर पारेर प्रतियोगिता गर्न लागिएको गुरुङले जानकारी दिए । प्रतियोगितामा विजेता हुने टोलीले नगद एक लाख ११ हजार १११ र उप-विजेता हुने टोलीले नगद ५१ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
गुरुङ जातिहरूको आपसी एकतालाई मजबुत बनाउन तथा गुरुङ संस्कार र संस्कृतिलाई संरक्षण गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ । त्यसैगरी जिल्लामा रहेका स्थानीय उत्पादनसँगै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलको प्रचार-प्रसार गर्न पनि प्रतियोगिताले भूमिका खेल्ने आयोजकको भनाइ छ ।