धनकुटा । धनकुटामा एक वर्षको अवधिमा एक सय मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि तयार गरेको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।
आज एक कार्यक्रमको आयोजना गरि इन्सेकले २०८० पुष देखी हालसम्म जिल्लामा भएका मानवअधिकार उल्लङ्घनका घटना बारे जानकारी गराएको हो । तथ्याङ्क अनुसार एक वर्षको अवधिमा तीन जनाको हत्या, दुई जनाको हत्या प्रयास, जातीय विभेदको एक, आत्महत्या दुरुत्सान सम्बन्धी दुई र घरेलु हिंसा सम्बन्धी ७० वटा घटना भएका छन् ।
यस्तै बलात्कार १४, बलात्कार पछि हत्या एक, बालयौन दुर्व्यवहार तीन, बालविवाह एक, बहुविवाह एक र साइबरक्राईम सम्बन्धी दुई वटा घटना भएका छन् । जसबाट पाँच पुरुष, ८४ महिला र ११ जना बालिका पीडित भएका तथ्याङ्कले देखाएको छ ।
गत वर्ष मानवअधिकार उल्लङ्घनका एक सय तीन वटा घटना भएका धनकुटाका इन्सेक प्रतिनिधि ईश्वर थापाले जानकारी दिए । मानवअधिकारका घटना न्यूनिकरण गर्न तीनै तहको सरकार र विभिन्न सङ्घसंस्थाले सचेतनामूलक कार्यक्रम गरिरहेको थापाले बताए ।
धनकुटामा लगायत देशैभरी स्थानीय तह, प्रदेश र सङ्घीय सरकार तथा जिल्लामा रहेका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरूले मानवअधिकार उल्लङ्घनका घटना न्यूनिकरणका लागी विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी रहँदा पनि कमी नआएको इन्सेक प्रतिनिधि थापाले बताए ।