विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले विराटनगर-४ का स्थानीयलाई उपचारमा विशेष छुट दिने भएको छ । हिजो वडाध्यक्ष जीतन थापा र अस्पतालका निर्देशक प्रा.डा. राजेश नेपालबीच उपचारमा सहुलियत दिने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयलाई उपचारमा विशेष छुट दिन लागिएको निर्देशक नेपालले बताए । यसअघि वडा कार्यालयको सिफारिसमा विपन्न बिरामीहरूलाई छुट दिने गरिएको भएपनि अबदेखि स्थानीय सबैलाई छुटको व्यवस्था मिलाइएको उनको भनाइ छ ।
वडाध्यक्ष थापाले सबै प्रकारको उपचारमा सहुलियत प्रदान गर्नेगरी सम्झौता पत्रमा हस्ताक्षर भएको जानकारी दिए । उनले यस कार्यले वडाबासीलाई आर्थिक रूपमा राहत पुर्याउने विश्वास व्यक्त गरे ।
सम्झौता अनुसार २५ प्रतिशत अपरेसन शुल्क र औषधीमा १० प्रतिशत छुट उपलब्ध हुने छ । सामाजिक सुरक्षा कोष अन्तर्गत रहेका बिरामीहरूलाई भने नियमअनुसार भुक्तानी गर्नु पर्ने २० प्रतिशत सह-भुक्तानी छुट हुनेछ ।
प्रभावकारिता हेरेर आपसी सहमतिमा सम्झौता नवीकरण गरिने सम्झौतामा उल्लेख गरिएको छ । यो सुविधा लिनको लागि बिरामीले आफ्नो परिचय खुल्ने कागजात पेश गर्नु पर्ने छ । यो सम्झौता २०८२ असार मसान्त सम्म कायम रहने छ ।