झापा । झापाको कमल गाउँपालिका-६ पुष्पाञ्जली टोलकी ८३ वर्षीया फूलमाया मुर्मुको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । हिजो दिउँसो आफ्नै घरमा मृत फेला परेकी मुर्मुको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
प्रारम्भिक अनुसन्धानबाट हत्या भएको पुष्टि भएपछि प्रहरीले हत्यामा संलग्नको खोजी सुरु गरेको थियो । हत्या आरोपीलाई प्रहरीले झापा गाउँपालिका-७ मदरगाछबाट पक्राउ गरेको हो ।
झापा गाउँपालिका-७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका-७ का २४ वर्षीय अशोक यादवलाई पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
उनीहरूले कलको ह्यान्डिल र फरुवाले टाउको, चिउँडोलगायत शरीरका विभिन्न भागमा प्रहार गर्दा वृद्धाको मृत्यु भएको उनले बताए । ‘लुटपाटको कारण वृद्धाको हत्या भएको देखिएको छ’, चन्दले संगालोखबरसँग भने, ‘वृद्धाको साथबाट मोबाइल र साइकल लुटेर लगेको पाइयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’
उनीहरूको खोजीमा जिल्ला प्रहरी कार्यालय झापासहित विभिन्न युनिटबाट प्रहरी परिचालन गरिएको थियो । यस्तै केनाइन शाखा धरानबाट झिकाइएका तालिम प्राप्त कुकुर र प्रहरीले हत्यामा संलग्नको पहिचान गरेका थिए ।
दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको डीएसपी चन्दले जानकारी दिए ।