विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदै छन् । दमक बिजनेस कम्प्लेक्स, मानव सेवा आश्रमको नयाँ भवन र भ्युटावर उद्घाटन लगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा आउन लागेका हुन् ।
दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडमा निर्माण भएको भ्युटावरलाई ‘दमक बिजनेस कम्प्लेक्स’ नाम दिइएको छ । १८ तले उक्त भवन चिनिया निर्माण कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा निमार्ण गरेका हुन् ।
हवाईमार्गमार्फत् ओली गृहजिल्ला आउने छन् । ओली पर्सि मात्रै काठमाडौं फर्कने कार्यक्रम छ । भोलि १० बजे बेलडाँगीमा खानेपानी उद्घाटन, ११ बजे गौरादह बजारमा ताजपुरिया समाजको भेला सम्बोधन र २ बजे बिर्तामोड स्थित सिटी सेन्टरमा बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।