विराटनगर । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले स्वास्थ्य मन्त्रालयमा आमूल परिवर्तन ल्याउने बताएका छन् । जनस्वास्थ्य सङ्घ कोशी प्रदेशले मंसिर २३ गते मनाउने जनस्वास्थ्य दिवसको अवसरमा गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले आफूले जिम्बेवारी समाल्दै गर्दा स्वास्थ्य मन्त्रालय नै बिरामी परेको महसुस गरेको उल्लेख गरे । उनले भने, ‘मन्त्रालयको अवस्था भद्रगोल छ । म आमूल परिवर्तन ल्याउन भूमिका खेल्नेछु ।’
उनले मन्त्रालयमा स्थायी दरबन्दी पदपूर्ति गर्न आफ्नो ध्यान केन्द्रित रहेको बताए । यसमा सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ थियो । उनले चाँडै नै प्रदेश सरकारले स्वास्थ्य नीति लागू गर्ने उल्लेख गरे ।
कोशी प्रदेश सभा अन्तरगतको सामाजिक समितिका सभापति गयानन्द मण्डलले प्रदेश स्वस्थ रहे प्रदेशवासी स्वस्थ रहने बताए । उनले प्रदेशको स्वास्थ्य अवस्थालाई सुधार्न सबै लाग्नुपर्ने उल्लेख गरे ।
जनस्वास्थ्य सङ्घका केन्द्रीय महासचिव कैलाश खाकी श्रेष्ठले जनस्वास्थ्यकर्मी एकजुट हुनुपर्ने धारणा राखे । तीनै तहको सरकारले जनस्वास्थ्यका क्षेत्रमा काम गर्नुपर्ने उनले बताए ।
कोशी प्रदेश आपूर्ति महाशाखा प्रमुख ज्ञान बहादुर बस्नेतले प्रदेश स्वास्थ्य ऐन बनाउँदा जनस्वास्थ्यकर्मीसँग छलफल गरि सबैको हितमा आउनुपर्ने उल्लेख गरे । चिकित्सक सङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र चौधरीले उपचारात्मक र प्रबर्द्धन सेवामा जोड दिए स्वास्थ्यको समस्या कम हुँदै जाने धारणा राखे ।
नेपाल फर्मास्युटिकल एसोसिएसन कोशी प्रदेशका अध्यक्ष शम्भु साहले उचित औषधि प्रयोगमा जनस्वास्थ्यको भूमिका अपरिहार्य रहेको बताए ।