
विराटनगर । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि कोशी प्रदेशसहित देशभर भीषण वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेसँगै विराटनगर महानगरपालिकाले सम्भावित विपद् व्यवस्थापनको तयारीलाई तीव्र बनाएको छ ।
बाढी तथा डुबानको उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरले सरोकारवाला निकायहरूसँग छलफल गरी उद्धार, राहत र पुनर्स्थापनाका लागि एकीकृत पूर्वतयारी रणनीति तयार पारेको हो ।
आज महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको सरोकारवालाहरूको आपतकालीन बैठकले सम्भावित प्राकृतिक विपदको सामूहिकरूपमा सामना गर्ने निर्णय गरेको छ । बैठकमा महानगरभित्रका जोखिमयुक्त क्षेत्रको पहिचान, उद्धार टोलीको परिचालन र विस्थापितहरूको बसोबास व्यवस्थापनबारे गहन छलफल भएको हो ।
बैठकका निर्णयबारे जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले खोला किनारका जोखिमयुक्त बस्तीमा समयमै सूचना पु¥याउने, उद्धार सामग्री सुरक्षा निकायमार्फत परिचालन गर्ने र विस्थापितहरूलाई तत्काल नजिकका विद्यालय, सामुदायिक भवन तथा मन्दिरमा सुरक्षित आश्रय दिने गरी सबै तयारी पूरा गरिएको बताए ।

उनले सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा उद्धार टोलीहरूलाई उच्च सतर्कताका साथ तैनाथ राखिने जानकारी दिए । महानगर क्षेत्रभित्र बाढी र डुबानबाट प्रभावित हुनसक्ने नागरिकहरूका लागि ४४ भन्दा बढी स्थानमा अस्थायी आश्रयस्थल पहिचान गरिएको छ ।
महानगरका नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार उद्धारपछि बसोबास र राहत व्यवस्थापनमा कुनै समस्या नआउने गरी संरचनाहरू तयारी अवस्थामा राखिएको छ ।
बैठकलाई सम्बोधन गर्दै महानगर प्रमुख कोइरालाले बाढी र डुबानबाट महानगरवासीको जीउधन जोगाउन सम्पूर्ण स्रोत, साधन र क्षमता प्रयोग गर्न महानगर प्रतिबद्ध रहेको बताए । उनले विपदको समयमा सबै वडा, सुरक्षा निकाय र स्थानीयवासीलाई एकजुट भएर पूर्वतयारीमा लाग्न आग्रह गरे ।
विराटनगर-१ का वडाध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ७ का मधुबाबु तिवारी, ८ का वडा सदस्य पवित्रा विश्वकर्मा, ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, १३ का सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १६ का उद्धव भुजेल र १९ का श्याम घिमिरेले खोला किनारका बासिन्दालाई पूर्वसूचना दिएर सुरक्षित स्थानमा सार्न जोड दिए ।
मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवाल, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गेहेन्द्रबहादुर भण्डारी र नेपाली सेनाका क्याप्टेन कृष्णकुमार कार्कीले विपदको समयमा जनताको जिउधनको रक्षाका लागि सुरक्षा निकाय पूर्णरूपमा तयारी अवस्थामा रहेको बताए ।
बैठकमा महानगरस्तरीय राजनीतिक दलका प्रतिनिधि, मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

संगालोखबर 

















