संगालोखबर


विराटनगर । असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दा तथा आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिन अनुसार उक्त मितिमा देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव तथा डुबान हुन सक्ने र सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने जोखिम रहेको भन्दै प्रशासनले सचेत गराएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भूभाग, भिरालो जमिन तथा डुबान हुन सक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

यस्तै जोखिमको सङ्केत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जाने र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न भनिएको छ । अति आवश्यक अवस्थामा बाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न र यात्रा गर्नुअघि सडक तथा मौसमको अवस्थाबारे जानकारी लिन अनुरोध गरिएको छ ।

बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामी व्यक्तिको सुरक्षामा विशेष ध्यान दिँदै पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न प्रशासनले आग्रह गरेको छ ।

मोरङका सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला सबैलाई आवश्यक पूर्वतयारीसहित सतर्क अवस्थामा रहन र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रशासनले निर्देशन दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!