
धनकुटा । कोशी प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय धनकुटाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । आज प्रशासनले सूचना जारी गर्दै सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई सतर्कता अपनाउन अपिल गरेको हो ।
असोज ९ देखि ११ गतेसम्म भारीदेखि धेरै भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण रहेकाले पूर्वतयारी र सावधानी अपनाउन प्रशासनको आग्रह छ । अविरल वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, नदी तटीय तथा होचो भू-भागमा डुबानका साथै सडक अवरुद्ध हुनसक्ने जोखिम रहेको छ ।
यसबाट कृषि, स्वास्थ्य, पर्यटन र आम नागरिकको दैनिक जीवन प्रभावित हुन सक्ने भएकाले अत्यन्त जरुरी नपरी टाढा र रातिको समयमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ ।
नदी-खोला किनार, पहिरोको जोखिम भएका क्षेत्र र भिरालो जमिन आसपास बस्ने नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र स्थानीय तहसँग आवश्यक समन्वय गर्न प्रशासकीय अधिकृत रामजी पौडेलद्वारा जारी सूचनामा भनिएको छ ।
यस्तै, जोखिमयुक्त राजमार्ग तथा सडकहरूमा सम्भावित अवरोध हटाउन डोजर, एक्साभेटर र लोडरहरू तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । सूचनामा सुरक्षा निकाय, स्थानीय तह, रेडक्रस र सरोकारवाला निकायहरूलाई पूर्वतयारीमा जुट्न भनिएको छ ।


संगालोखबर 

















