
इलाम । इलामबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । इलाम नगरपालिका-९ भन्ज्याङस्थित मेची राजमार्गबाट प्रहरीले १ हजार ५ सय ४ किलो गाँजा बोकेको ट्रक नियन्त्रणमा दिएको हो ।
गस्तीमा खटिएको प्रहरी टोलीले ना ४ ख ८९९६ नम्बरको ट्रकबाट ४१ वटा बोरामा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार ट्रकमा फल्स बटम बनाएर त्रिपालले छोपेर राखेको अवस्थामा गाँजा फेला परेको हो ।
ट्रक र गाँजा नियन्त्रणमा लिइएपनि चालक फरार भएकाले खोजी भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गाँजा कहाँबाट ल्याएको र कहाँ लैजान खोजिएको भन्ने खुल्न बाँकी छ ।

संगालोखबर 

















