धनकुटा । धनकुटामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘हामी सबैको प्रतिवद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको हो ।
धनकुटा नगरपालिकाको आयोजना तथा विभिन्न सङ्घसंस्थाहरूको समन्वयमा आज प्रभात फेरी निकालिएको छ । टुँडिखेलबाट सुरु भएको प्रभातफेरी तल्लो कोप्चे, बिहिबारे हटिया, माथिल्लो कोप्चे, भिमनारायण चोक, सिरान बजार, बिच बजार, हुलाक टोल हुँदै मदन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रभातफेरीमा अन्तर पार्टी महिला सञ्जाल, महिला पुनःस्थापना सेवा केन्द्र, हुसाडेक नेपाल, जिल्ला प्रहरी कार्यालय, पारालिगल समिति, हाम्रो बहुमुखी पाठशाला, वेस्ट नेपाल लगायत जिल्लामा रहेका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य निरन राईले महिलाहरूमाथि हुने दुर्व्यवहार रोकथामका लागि राज्य चनाखो हुनुपर्ने बताए । महिलाहरूलाई सक्षम बनाएर जस्तोसुकै समस्या आएपनि समाधान गर्न सक्ने बनाउनुपर्ने उनले उल्लेख गरे ।
‘दुर्व्यवहार गर्नेहरूलाई कडा कारबाही गर्न आवश्यक छ’, उनले भने, ‘महिलाहरूलाई सुरक्षित हुन कस्ता कानुनको आवश्यक पर्छ, त्यसका लागि पहल गर्ने काम गर्नेछु ।’ प्रभातफेरीमा नगरपालिकाका कर्मचारी, महिला अधिकारकर्मी, सुरक्षाकर्मी, स्थानीय, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षकशिक्षिका लगायतको सहभागिता रहेको थियो ।
लैङ्गिक हिंसा अन्त्य गर्न आजैबाट कदम चालौँ, लैङ्गिक हिंसाको रोकथाम सभ्य समाजको पहिचान, हिंसा र भेदभाव रहित परिवार, शान्ति र उन्नतिको आधार, लगायतका प्लेकार्डसहित नगर परिक्रमा गरिएको थियो ।