विराटनगर । नेपालमा लागूऔषध प्रयोगकर्ताको सङ्ख्या दिनहुँ बढिरहे पनि यसको रोकथामका लागि तीनै तहको सरकारले ध्यान नदिएको सरोकारवाला संस्थाले बताएको छ । रिकभरी नेपाल कोशी प्रदेशले विराटनगरमा पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रम गर्दै प्रदेश र स्थानीय सरकारले यसक्षेत्रमा कुनै काम नगरेको जनाएको हो ।
रिकभरी नेपालका अनुसार नेपालमा सन् २००७ मा ४६ हजार तीन सय नौ जना लागूऔषध प्रयोगकर्ता थिए । त्यसमा महिलाको सङ्ख्या तीन हजार ती सय ५५ थियो । सन् २०१३ मा लागूऔषध प्रयोगकर्ताको सङ्ख्या ९१ हजार पाँच सय ३४ पुगेको थियो । सन् २०२० मा गरिएको सर्वेक्षणमा लागूऔषध प्रयोगकर्ताको सङ्ख्या एक लाख ३० हजार चार २४ पुगेको थियो । जसमा महिलाको सङ्ख्या आठ हजार सात सय ३२ पुगेको थियो ।
अहिले नयाँ तथ्याङ्क सार्वजनिक नभए पनि लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बढिरहेको रिकभरी नेपाल कोशी प्रदेशका उपाध्यक्ष सञ्जीव चापागाँईले बताए । विशेषगरी लागूऔषध प्रयोगकर्तामा ७५ प्रतिशत युवायुवती २५ देखि २९ उमेर समूहका हुनेगरेको उनको भनाइ छ ।
तर यसको रोकथाम तथा न्यूनिकरण गर्न प्रदेश सरकार र स्थानीय तहले भूमिका नखेलेले चापागाँईले बताए । यसको न्यूनिकरणका लागि तीनै तहको सरकारले भूमिका खेल्नुपर्ने उनले जोड दिए । लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बढेपनि यसको प्रयोगबाट सर्ने रोग घट्दै गएको उनको भनाइ छ ।
उनले भने, ‘सन् २००४ भन्दा अगाडि एक सय जना लागूऔषध प्रयोगकर्ता मध्ये ५० जनामा एचआइभी लगायतका रोग देखिन्थ्यो भने अहिले एक सयमा दुई जनालाई मात्र यस्तो प्रकारका रोग देखिन्छन् ।’ प्रदेश सरकार र स्थानीय तहले लागूऔषधका क्षेत्रमा विभिन्न कामहरू गर्नुपर्ने रिकभरी नेपालका फोकस पर्सन निस्मा नेपालले बताइन् ।
उनले यससँग सम्बन्धित कानुन र नीति परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिइन् । लागूऔषध प्रयोगकर्ताहरूको व्यवस्थापनका लागि आवश्यक तालिम, लागूऔषधको समस्यालाई स्थानीय र प्रदेश सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने रिकभरी नेपालले माग गरेको छ ।
यस्तै सडक बालबालिकाको लागूऔषध समस्या सबै निकायले व्यवस्थापन गर्नुपर्ने, पुनर्स्थापना तथा उपचार कार्यक्रम प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय वा सामाजिक विकास मन्त्रालयबाट हुनुपर्ने माग गरिएको छ ।