विराटनगर । नेपाल न्युरो समाजको राष्ट्रिय सम्मेलन कोशी प्रदेशमा हुने भएको छ । न्युरो समाजले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आज पत्रकार सम्मेलन गरेर भोलि र पर्सि विराटनगर र इटहरीमा एघारौँ राष्ट्रिय सम्मेलन गर्न लागिएको जानकारी दिएको हो ।
इटहरीको होटल सोल्टीमा भोलि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलन उद्घाटन गर्नेछन् । पत्रकार सम्मेलनमा समाजका अध्यक्ष तथा वरिष्ठ न्युरो सर्जन डा.यमबहादुर रोकाले यसले न्युरो सर्जरी सेवाको विस्तारसँगै आम जनतामा चेतना फैलाउन सहयोग पुर्याउने धारणा राखे । न्युरो सर्जरी क्षेत्रमा कार्यरत चिकित्सकहरूको मनोबल बढाउन पनि सम्मेलनले सहयोग पु¥याउने अपेक्षा राखिएको डाक्टर रोकाले बताए । ‘काठमाडौँ बाहिर यो समेत दोस्रो पटक सम्मेलन हुँदैछ’, उनले भने, ‘दुई वर्ष अगाडि पोखरामा भएको थियो । कोशी प्रदेशमा यो पहिलो पटक हो ।’
सम्मेलनमा नेपालका न्युरो सर्जन तथा न्युरोसँग सम्बन्धित नर्स, प्राविधिक, फिजियोथेरापिस्ट तथा विभिन्न देशका विशेषज्ञसहित एक सय ५० जना सहभागि हुने नोबेलका न्युरो विभाग प्रमुख बरिष्ठ न्युरो सर्जन डा.प्रकाश काफ्लेले जानकारी दिए । उनका अनुसार भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानलगायत देशबाट १५ जना सम्मेलनमा आउनेछन् ।
सम्मेलनमा सय भन्दा बढी कार्यपत्र प्रस्तुत हुने र विभिन्न विधामा उत्कृष्ट कार्यपत्र प्रस्तुत गर्नेलाई सम्मान तथा पुरस्कृत गरिने न्युरो समाजका उपाध्यक्ष तथा वरिष्ठ न्युरो सर्जन डा.सूदन ढकालले जानकारी दिए । यसपटकको सम्मेलनको विषयवस्तु ‘प्रविधिसँग न्युरो सर्जरीको विकास’ रहेको ढकालले जानकारी दिए ।
यसैबीच, दुरबिनबाट गरिने मेरुदण्ड र नाकको शल्यक्रिया तथा न्युरो सर्जरी र अल्ट्रासाउण्डको उपयोगिताको विषयमा आज नोबेलमा कार्यशाला भइरहेको छ ।