विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किङ्ग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न भएको छ । कोशी प्रदेशका पाँच जिल्लामा हुने ट्यालेन्ट हन्ट इलाम पछि झापामा सम्पन्न भएको हो ।
झापाको बिर्तामोडको युनाइटेड क्लबमा एक सय बढी खेलाडीहरूबीच ट्यालेन्ट हन्ट आज सकिएको हो । टिमका क्रिकेट कोच लाक्पा लामा र दिपेन्द्र चौधरीले झापाबाट पाँच जना खेलाडी छनोट गरेका छन् ।
छानिएका खेलाडीलाई विराटनगरमा हुने तयारी क्याम्पमा सामेल गरिने विराटनगर किङ्ग्समा अपरेसन डाइरेक्टर दिपेन्द्र चौधरीले जानकारी दिए । अब सुनसरीमा कात्तिक २९ गते, उदयपुरमा कात्तिक ३० गते, मोरङमा मङ्सिर २ गते ट्यालेन्ट हन्ट आयोजना हुनेछ ।
कोशी प्रदेश क्रिकेट एसोसिएसनको सहकार्यमा ट्यालेन्ट हन्ट आयोजना भएको हो । विराटनगर किङ्ग्सको मार्की खेलाडी सन्दीप लामिछाने रहेका छन् । ‘कोशीको शान हाम्रो पहिचान’ भन्ने नारा सहित टिम कोशीमा उदयमान खेलाडीहरूको खोजीमा निस्किएको जनाइएको छ ।
क्यानको आयोजनामा पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म सञ्चालन हुनेछ । विराटनगर किङ्ग्सको टिममा सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दीपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अनिल खरेल रहेका छन् ।
यसैगरी विदेशी खेलाडीमा मार्टिन गप्टिल, अकिब इल्यास, निकोलस किर्टाेन, क्रिस सोल रहेका छन् । मुख्य प्रशिक्षकमा केभिन ओब्रायन रहेका छन् ।