धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-२ र ३ स्थित चोक्ताङमा रहेको लेगुवा झरना ओझेलमा परेको छ । भौतिक पूर्वाधार र प्रचारप्रसारको अभावले झरना ओझेलमा परेको हो ।
लेगुवा झरना नजिकै धोबीखोला र झाँक्री झरना पनि छन् । जसले यो स्थानको रौनकता बढाएको छ । तर पर्यटनको प्रचुर सम्भावना बोकेर पनि यो स्थान भौगोलिक विकटताका कारणले पछि परिरहेको छ ।
पछिल्लो समय फाट्टफुट्ट मानिसहरू झरनाको अवलोकनका लागि आउन थालेका छन् । झरनासम्म पुग्ने सहज मार्ग नहुँदा आएका मानिसहरूले पनि यसको खासै प्रचार गरेको पाइँदैन ।
लेगुवा झरना नजिकै रहेका अन्य दुई वटा झरना पनि मनमोहक छन् । धोबीखोला झरना करिब दुई सय मिटर अग्लो छ भने झाँक्री झरना करिब एक सय मिटर अग्लो छ । पत्थरको बीचमा रहेका यी झरनाले जो-कोहीलाई पनि आकर्षित गर्छन् । यी झरनासम्म पुग्न सडकमार्गबाट करिब १५ किलोमिटर पैदल यात्रा गर्नुपर्ने हुन्छ ।
‘पर्यटकीय गन्तव्य बन्न सक्ने भएर पनि यो स्थान ओझेलमा परेको छ’, स्थानीय डिक बहादुर लुम्बाले भने, ‘सडक मार्ग नहुँदा थप समस्या भएको छ । सडक निर्माण भएको खण्डमा अन्य संरचना पनि निर्माण हुने थियो ।’
यो स्थानलाई पर्यटकीय गन्तव्य बनाउन सकेमा स्थानीयले पनि आर्थिक उपार्जन गर्न सक्ने उनले बताए । यसका लागि स्थानीय सरकारले विशेष पहल गर्न आवश्यक रहेको उनको भनाइ छ ।
पूर्वाधार निर्माणको काम पूर्ण भइनसकेको र प्रचारप्रसार अभावले यो स्थान ओझेलमा परेको महालक्ष्मी नगरपालिका-२ का वडाध्यक्ष पदम रखालले बताए ।
‘हामीले प्रचारप्रसार गर्ने काम गरिरहेकै छौँ’, उनले भने, ‘अन्य भौतिक पूर्वाधार निर्माणको काम गर्न बजेट अभाव छ ।’ उनले यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन वडाले पहल गरिरहेको बताए ।
यो स्थान कोशी राजमार्ग स्थित चित्रे–वसन्तपुर दारेगौडाबाट लेगुवातर्फको सडक हुँदै करिब २० किलोमिटर दक्षिणमा पर्दछ । लेगुवाबाट भने करिब १५ किलोमिटरको दूरीमा पर्छ ।
भिडियो