सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओली आज धरान आउँदैछन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहका लागि प्रधानमन्त्री ओली धरान आउन लागेका हुन् ।
प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली बिहान १० बजे विराटनगर विमानस्थल हुँदै धरान आउने सुनसरीका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यू बिहान १० बजे विराटनगर एयरपोर्ट हुँदै धरान आउँदै हुनुहुन्छ,’ डीएसपी तिमल्सिनाले संगालोखबरसँग भने, ‘दिउँसो १ बजे घोपामा दीक्षान्त समारोह आयोजना गरिएको छ, त्यहाँ प्रधानमन्त्रीज्यू सहभागि हुने कार्यक्रम छ ।’
प्रतिष्ठानले विभिन्न सङ्कायका ६५७ विद्यार्थीलाई दीक्षित गर्ने तयारी गरेको छ । सन् २०१० देखि २०१७ ब्याचका एमबीबीएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङका विद्यार्थीलाई दीक्षित गरिदैछ । २०१२ देखि २०१८ सम्म एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएचडी उपाधि हासिल गरेका विद्यार्थीहरूलाई पनि दीक्षित गरिने प्रतिष्ठानले जनाएको छ ।
आठ वर्षपछि प्रतिष्ठानले दीक्षान्त समारोह गर्न लागेको हो । प्रतिष्ठानले यसअघि सन् २०१६ मा १२ औं दीक्षान्त समारोह गरेको थियो । प्रतिष्ठानमा हालसम्म एमबीबीएसमा २४ र बिडिएसमा १८ ब्याचका विद्यार्थीले पढिसकेका छन् । दीक्षान्त समारोहमा सहभागि भएर प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्किने कार्यक्रम छ ।