धनकुटा । धनकुटा नगरपालिका-५ तल्लो टुँडिखेलको पूर्वोत्तर दिशामा गोल पोष्टसँगै दुई स्तम्भ छन् । जुन स्तम्भ जोर धरहराका नामले परिचित छन् । यी स्तम्भलाई काठमाडौंको समकालीन धरहराका रूपमा लिइन्छ ।
तर यी धरहराको कुनै अभिलेख भने भेटिएको छैन । करिब १० फिट अग्ला जोर धरहराबाट कुनै बेला आर्मीहरूले कवाज हेर्ने र समस्या पर्दा बिगुल फुक्ने गरेको जानकारहरू बताउँछन् ।
२०७२ सालको भुकम्पले भत्काएको काठमाडौं धरहराको पुनः निर्माण भयो । अन्य ठाउँमा पनि प्रतिकात्मक रूपमा साना धरहरा निर्माण गरिए । धनकुटाका जोर स्तम्भमा भने चढ्न मिल्दैन । स्थानीय जानकार कृष्ण जोशीका अनुसार जोर स्तम्भ धनकुटाको धरोहरका रूपमा परिचित छन् ।
यी धरहरा कहिले र कसले बनाए भन्ने कुनै अभिलेख छैन । खोजकर्ताहरू भने भिमसेन थापाकै समयमा निर्माण भएको हुनसक्ने बताउँछन् । आशा खत्री पछि पूर्वी हेडक्वार्टर सम्हाल्न आएका बहादुर सिहं भण्डारीले चैनपुरबाट गौडा धनकुटा सारे पछि विभिन्न संरचना निर्माण गर्ने क्रममा बि.स. १८०० को अन्त्य १९०० को सुरुवात तिर धरहरा बनाएको समेत बताइन्छ ।
बहादुर सिहं भण्डारी भिमसेन थापाका भाइ नयन सिहं थापाका नाति भएकोले पनि उनले काठमाडौंको सिको गर्ने क्रममा धरहरा बनाएको धनकुटाका लेखक तथा खोजकर्ता ठाकुर बराल बताउँछन् ।
१९३८ सालमा काठमाडौंबाट निष्कासित भएर भारतको चितौरगढ गइ बसेका बमबिक्रम राणालाई बि.स. १९४२ मा वीरशमशेरले नेपाल झिकाइ धनकुटा गौँडाका बडाहाकिम बनाएपछि उनले धनकुटामा बिभिन्न संरचना निर्माण गर्ने क्रममा धरहरा बनाएको स्थानीय जानकार बताउँछन् । तत्कालीन बडाहाकिम बमबिक्रम राणाको कार्यकालमा नै धरहरा बनेको हुनसक्ने बराल बताउँछन् ।