सिमकोट, ३१ भदौ । अदानचुली गाउँपालिका १ का जगत भियाललाई दसैं नजिकिदै गर्दा दसैंमा परिवारलाई कसरी भात खुवाउने भन्ने चिन्ताले भित्रभित्रै निकै पिरोलेको छ।
वर्षभरीको पर्वमा परिवारलाई भात खुवाउन श्रीनगर खाद्य डिपोमा पुगेका जगतले डिपोका सबै कोठामा ताला लगाएको देखेपछि साना बच्चाले ‘दसैंमा त भात पाइन्छ है बाबा !’ भनेको शब्दमात्र सम्झिए।
चामलका लागि सर्केगार्ड खाद्य डिपोमा गएका सर्केगार्ड गाउँपालिका ५ रोडिकोट निवासी राजेन्द्र कार्की डिपोका कर्मचारीले चामल सकिएको भनेपछि रित्तो हात फर्कदै भात बिनाको दसैं जीवनमै पहिलो पटक मनाउनु पर्ने बाध्यता आइलागेको बताए।
श्रीनगरका भियाल र रोडिकोटक कार्की मात्रै होइन सिमकोट गाउँपालिका २ ठेहेका जंग बोहराले पनि सिमकोटमा भएको खाद्य संस्थानबाट चामल नपाएपछि यो दसैंचामलको अभावमै बित्ने प्रतिक्रिया दिए।
हरेक वर्ष दसैमा प्रर्याप्त चामल दिने खाद्य संस्थान सिमकोट, श्रीनगर र सर्केगार्ड खाद्य डिपोमा सरकारले समयमा चामल ढुवानी नगरेपछि हुम्लीको यो दसैं भात बिनै मनाउनु पर्ने बाध्यता भएको हो।
सरकारले ढुवानी अनुदानमा हरेक वर्ष उपलब्ध गराउँदै आएको खाद्यन्नमध्ये यो वर्ष पनि कम चामल ढुवानी भएपछि यस्तो समस्या आएको नेपाल खाद्य संस्थान हुम्लाका प्रमूख नारायण सिंह केसीले जानकारी दिए।
हरेक महिनासिमकोट, आसपासका वासिन्दालाई राशन कुपनको आधारमा र जिल्लाका अन्य गाउँका बासिन्दालाई वडाभागका आधारमा चामल विक्री गर्ने खाद्य संस्थानले यो वर्ष दसैंको मुखमा ३ सय स्वीन्टल चामलमात्रै स्टक राखेकाले यस्तो समस्याआएको हो।
प्रतिमहिना सबैलाई पुग्नेगरी चामल वितरण गर्दा १५ सयदेखि १८ सय क्विण्टल चामल आवश्यक पर्ने हुम्लामा अहिले संस्थानको गोदाममा ३ सय क्विटल मात्रै भएपछि दसैजस्तो चार्डमा पनि स्थानीयलाई चामल वितरण गर्न नसकिएको संस्थानका प्रमूख केसीले जानकारी दिए।
उनका अनुसार उक्त चामल पनि गाउँलेलाई वतरण गर्दा नपुगने भए पनि आइतबार सिमकोट बजारवासीलाई वितरण गर्ने तयारी गरिएको छ। यसले दसैमा गाउँका बासिन्दाले एक दाना चामल नपाउने प्राय निश्चित भएको हो।
नयाँ धानवाली नपाकेको र पुरानो समेत सकिएकोले सधैँ खाद्यको भरपर्ने गरेको बताएका सर्केघार्ड १ कामंग छत्यालले यो वर्ष खाद्य संस्थानबाट समेत चामल नपाएपछि दसैं सोचे अनुरुप नहुने भएको हो।
संस्थानमा भएको चामल पनि नेता र ठूलाबडाको भनसुनमा वितरण गरिने तर सर्वसाधारणले नपाउने भएपछि वास्तविक निमुखाको घरमा आगो बल्न समेत समस्या देखिने ताँजाकोट गाउँपालिकाका पूर्णप्रसाद ढकालले बताए।
खाद्य संस्थानले जिल्ला प्रशासन कार्यालयको सिफारिसमा सदरमुकाम सिमकोटका स्थानीयलाई हरेक महिना प्रतिव्यक्ती ५ केजी, बजारवासीलाई ४ केजी र घरधुरी अनुसार सिमकोटका बारिहाका गाउँमा वडा भागले चामल वितरण गर्ने प्रचालन भएपनि यो वर्ष चामल ढुवानीमा ढिलाई भएपछि फागुनयता राम्रो सँग चामल वितरण नगरिएको संस्थानका कृष्ण अवस्थीले जानकारी दिए।
उनका अनुसार जिल्लाभरी तीन स्थानबाट चामल वितरण गर्ने खाद्य संस्थानमध्ये सर्केगार्ड र श्रीनगर डिपोमा गएको असारदेखि एक दाना चामल छैन् भने सिमकोटमा निकै कम छ।
हरेक वर्ष १३ देखि १५ हजार किवन्टल सरकारद्धारा ढुवानी अनुदानमा चामल उपलब्ध गराउने भएपनि यो आर्थिक वर्षमा विनियोजन चामलको ढुवानी सुरु नभएकाले पनि यो दशैमा पर्याप्त चामल नभएको ठहर संस्थान हुम्लाका प्रमूख केसीको छ।
गएको वर्षदेखि ढुवानी हुन बाँकी ३ हजार क्विण्टल चामल मध्ये अहिलेसम्म १८ सय क्विण्टल मात्रै ढुवानी भएकोमा साउन र भदौमा गरी ढुवानी भएको चामलमात्रै हाल स्टक रहेको बताएका केसीका अनुशार ढुवानीको जिम्मा लिएका निजी विमान कम्पनी तारा एयर, सीता एयर र गोमा एयरले समयमा ढुवानी नगरेकाले यो समस्या आएको हो।-अन्नपूर्णपोष्ट