सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । पुरै गाउँ शाहाकारी ! यो वाक्य सुन्दा जो–कोहीलाई अचम्म लाग्न सक्छ । धेरैलाई त विश्वास पनि नलाग्ला । तर धनकुटामा एउटा यस्तो गाउँ छ, त्यहाँका सबै घरपरिवार शाहाकारी छन् । उनीहरू माछामासु नखाने मात्र हैन पशुपक्षी समेत पाल्दैनन् ।

Advertisement

यो गाउँ सहिदभूमि गाउँपालिका-२ मा पर्दछ । साम्बु गाउँले परिचित यस ठाउँमा करिब डेढ सय घरपरिवार बस्छन् । उनीहरू माछामासु खायो भने पाप लाग्ने विश्वास गर्छन । राँगा, बङ्गुर, हाँस, कुखुरा, परेवा, खसीबाख्रा लगायतका घरपालुवा जनावर उनीहरूले पालेकै छैनन् ।

जनजाति समुदायका उनीहरू प्रत्येक महिना शुक्लपक्षमा पूर्ण व्रत बस्छन् । चाडवर्प होस् या अन्य कुनै विशेष भोजभतेर, शाहाकारी भोजन नै बन्छ । ‘कुनै पनि जीवको हत्या गर्नु पाप हो’, स्थानीय भरतलाल राईले भने, ‘उनीहरूको पनि बाँच्न पाउने अधिकार छ । त्यसैले संरक्षण गर्नुपर्छ । पशुपक्षीको हत्या गर्नु भनेको द्वन्द्व निम्त्याउनु हो ।’

पशुपक्षीको हत्या नगर्दा समाजसमेत शान्त रहने राईले बताए । उक्त गाउँका प्रत्येक घरमा तुलसीका मठ छन् । मठसँगै बाँसका लिङ्गा गाडिएको छ । लिङ्गामा सेतो रङ्गको ध्वजा लगाइएको छ । यस गाउँका मानिसहरू कुलतबाट पनि अलग छन् । जाँडरक्सी र सुर्ती बिँडी केही खाँदैनन् ।

स्थानीय रूपलाल राईले भने, ‘बुढापाका मात्रै नभएर युवा पुस्ताले पनि यसलाई निरन्तरता दिएका छन् ।’ अन्य पशुपक्षी नपाले पनि दुधका लागि गाईभैँसी भने पाल्ने गरेको उनले बताए । उनका अनुसार मासुका लागि पालिने पशुपक्षी पाल्न पूर्ण बञ्चित छ ।

‘हाम्रो आफ्नै परम्परा छ’, उनले थपे, ‘भोजभतेरमा पनि माछामासु र मादक पदार्थ चल्दैन । अन्य समयमा त झन चल्ने कुरै भएन । माछामासु पकाएको ठाउँमा गएर पनि खाँदैनौँ ।’ यो चलन एक शताब्दी देखि चलिरहेको उनले बताए ।

भारत पुगेका आफ्ना पुर्खाले सन्त कविर पथ अंगालेर आएदेखि यो चलन चलेको उनको भनाइ छ । उनले भने, ‘उहाँहरूले यसबारे प्रचार गर्नुभयो । त्यसपछि केही परिवारले सोही चलन मान्न थाले । यही चलन मान्ने परिवार फैलिएर अहिले पुरै गाउँ नै शाहाकारी भएको हो ।’

वि.सं. १९४३ सालमा हालको साँगुरीगढी जलारा र तत्कालीन जलारा खुडीका रामबहादुर राई नाम गरेका व्यक्ति कामको सिलसिलामा भारत गएका थिए । उनी उताबाट सो कुरामा प्रभावित भएर आएपछि यो चलन चलेको विश्वास छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!