सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा सडक दुर्घटनाबाट हुन सक्ने मानवीय क्षति कम गर्न कृत्रिम अभ्यास गरिएको छ । धनकुटा नगरपालिका-७ स्थित जिरो प्वाइन्टमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय धनकुटाले  संयुक्त रूपमा कृत्रिम अभ्यास गरेका हुन् ।

अभ्यासका क्रममा मोटरसाइकल र सुमो ठोक्किएर दुर्घटना भएको नमुना प्रस्तुत गरिएको थियो । मोटरसाइकलमा सवार दुई जनाले ट्राफिक नियम पालना नगरी सवारी कुदाएको र दुई सवारी एकआपसमा ठोक्किएको अवस्था देखाइएको थियो ।

Advertisement

सो क्रममा मोटरसाइकल चालक र पछाडि सवार घाइते हुन्छन् । घाइतेलाई सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले उद्धार गरी एम्बुलेन्समा हालेर उपचारका लागि अस्पताल पुर्‍याउँछन् ।

त्यस्तै मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा भएको दुर्घटनामा परेर दुई जना पैदल यात्री घाइते हुन्छन् । उनीहरूलाई नेपाल प्रहरी र ट्राफिक प्रहरीले उद्धार गरेर अस्पताल पठाउँछन् । सडकमा मोबाइल फोन चलाउँदै नियम विपरित बाटो काट्ने दुई यात्रीलाई बीच सडकमा सुमोले ठक्कर दिन्छ ।

उनीहरूलाई तत्काल उद्धार गरेर अस्पताल पठाइन्छ । कुनै पनि सवारी साधन नियम विपरित चलाउँदा हुनसक्ने क्षतिलाई कम गराउन र जथाभावी बाटो काट्दा हुन सक्ने दुर्घटना कम गर्न कृत्रिम अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी श्याम सिंह चौधरीले बताए ।

मादक पदार्थ सेवन गरी यातायात चलाउने, ट्राफिक नियमको पालना नगर्ने लगायतका कारण दुर्घटना बढिरहेको जिल्ला ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए । यस्ता कारणबाट हुने दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले कृत्रिम अभ्यास गरिएको उनले बताए ।

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!