मोहन ढकाल/संगालोखबर

विराटनगर । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले २०७४ सालदेखि अहिलेसम्म भएका गतिविधि सार्वजनिक गरेको छ । मन्त्री भुपेन्द्र राईले आज पत्रकार सम्मेलन गर्दै मन्त्रालय अन्तरगत भएका र हुन बाँकी कार्यको प्रगति विवरण प्रस्तुत गरेका हुन् ।

Advertisement

मन्त्री राईले भने, ‘अहिलेसम्म भएका गतिविधि बताएपछि मात्र आफू अगाडि बढ्नुपर्ला भन्ने महसुस गरेर मन्त्रालयबाट भएका काम सार्वजनिक गरेको हुँ ।’ मन्त्री राईका अनुसार कोशीमा निर्माण हुँदै गरेका तर म्याद गुज्रिएका १९ वटा सडक रहेका छन् ।

सोलुखुम्बुमा एक, ओखलढुङ्गामा दुई, उदयपुरमा दुई, सुनसरीमा तीन, मोरङमा चार, भोजपुरमा दुई, सङ्खुवासभामा एक वटा म्याद गुज्रिएका सडक छन् । यस्तै झापा र इलाममा दुई/दुई वटा सडकको म्याद गुज्रिएको छ । यी सडकलाई सङ्कटग्रस्त योजनाका रूपमा घोषणा गरिएको मन्त्री राईले जानकारी दिए ।

यसैगरी निर्माण हुँदै गरेका तर म्याद गुज्रिसकेका पुल १२ वटा रहेका मन्त्री राईले बताए । सोलुखुम्बुमा एक, उदयपुरमा एक, सुनसरीमा एक, मोरङमा दुई र भोजपुरमा एउटा पुलको सम्झौता अनुसार म्याद गुज्रिएको छ ।

यस्तै धनकुटामा एक, सङ्खुवासभामा तीन र तेह्रथुममा एक र इलाममा एउटा पुलको म्याद गुज्रिएको उनको भनाइ छ । यी योजनाहरूलाई पनि सङ्कटग्रस्त घोषणा गरिएको मन्त्री राईले बताए । सम्झौता अनुसार समयमा नै निमार्ण सम्पन्न नभएको र लामो समयसम्म रोकिएर रहेका कारण सङ्कटग्रस्त घोषणा गर्नु परेको मन्त्री राईले उल्लेख गरे ।

बेरुजुको चाङ

भौतिक पूर्वाधार मन्त्रालय मातहतका कार्यालयहरूमा रहेको बेरुजुको स्थिति पनि मन्त्री राईले सार्वजनिक गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयमा दुई करोड ४३ लाख ८९ हजार बेरुजु रहेको मन्त्री राईले बताए ।

यातायात पूर्वाधार निर्देशनालय इटहरीको आठ करोड ४४ लाख ५१ हजार, पूर्वाधार विकास कार्यालय पाँचथरमा २८ करोड एक लाख ६३ हजार बेरुजु रकम रहेको मन्त्री राईले जानकारी दिए ।

पूर्वाधार विकास कार्यालय सङ्खुवासभामा ६० लाख ७७ हजार, पूर्वाधार विकास कार्यालय भोजपुरमा ७ करोड ५३ लाख ६३ हजार, पूर्वाधार विकास कार्यालय ओखलढुङ्गामा १६ करोड ८५ लाख २९ हजार रुपैयाँ बेरुजु रकम रहेको मन्त्री राईले उल्लेख गरे ।

यसैगरी पूर्वाधार विकास कार्यालय उदयपुरमा तीन करोड ७५ लाख ६५ हजार, पूर्वाधार विकास कार्यालय मोरङमा एक अर्ब ९ करोड ५८ लाख ८९ हजार, पूर्वाधार विकास कार्यालय झापामा १३ करोड ४६ लाख ९ हजार रुपैयाँ बेरुजु देखिएको मन्त्री राईले जानकारी दिए ।

सहरी विकास तथा भवन कार्यालय इलाममा १४ करोड ९८ लाख २६ हजार, धनकुटामा ९ करोड ७४ लाख ५१ हजार, ओखलढुङ्गामा तीन करोड ६४ लाख ५६ हजार र मोरङमा दुई करोड ४६ हजार रुपैयाँ बेरुजु रकम रहेको मन्त्री राईले बताए ।

मन्त्री राईले भने, ‘यसमा भौतिक मन्त्रालय अन्तरगत जम्मा बेरुजु दुई अर्ब ३९ करोड ८ लाख ८० हजार देखिन्छ । जसमध्ये असुलउपर मात्रै ३६ करोड ५१ लाख ७४ हजार बेरुजु रकम देखिन्छ ।’ यो रकम व्यवसायी र निर्माण व्यवसायीसँग रहेको मन्त्री राईले उल्लेख गरे ।

बहुवर्षीय योजना

ग्रामीण सडक सञ्जाल सुधार आयोजना अन्तरगत पाँच वटा योजना सञ्चालन भइरहेका छन् । पूर्वाधार विकास कार्यालय पाँचथरमा ९ वटा योजना मध्ये ६ वटा सडक र तीन वटा सडक पुल सम्पन्न हुन बाँकी छन् । सङ्खुवासभामा सञ्चालन भइरहेका आठ वटा योजना सम्पन्न हुन बाँकी छन् ।

भोजपुरमा १५ वटा बहुवर्षीय योजना सञ्चालनमा रहेको मन्त्री राईले जानकारी दिए । जसमध्ये तीन वटा सडक र दुई वटा पुल निर्माण सम्पन्न भएका छन् भने पाँच वटा सडक र पाँच वटै पुलको निर्माण सम्पन्न हुन बाँकी छ ।

यस्तै ओखलढुङ्गामा १० वटा बहुवर्षीय योजना अन्तरगत पाँच वटा सडक र पाँच वटा सडक पुल रहेका छन् । जसमध्ये एउटा सडक र दुई वटा पुल निर्माण सम्पन्न भएको छ । उदयपुरमा ११ वटा बहुवर्षीय योजना अन्तरगत ६ वटा सडक र सडक पुल पाँच वटा रहेका छन् ।

जसमध्ये दुईवटा सडकको मात्रै निर्माण सम्पन्न भएको छ । मोरङमा २४ वटा योजना सञ्चालनमा छन् । जसमा १९ वटा सडक र सडक पुल पाँच वटा रहेकामा चार वटा सडक र एउटा सडक पुलको निर्माण सम्पन्न भएको मन्त्री राईले जानकारी दिए ।

झापामा ३० वटा बहुवर्षीय योजना अन्तरगत १९ वटा सडक र सडक पुल ११ वटा रहेका छन् । जसमध्ये दुई वटा सडक र तीन वटा सडक पुलको निर्माण सम्पन्न भएको छ । यस्तै यातायात निर्देशनालयमा चार वटा बहुवर्षीय योजना सञ्चालनमा रहेको मन्त्री राईले जानकारी दिए ।

उनले भने, ‘कोशीमा जम्मा एक सय १७ वटा बहुवर्षीय योजना सञ्चालनमा छन् । जसमा ७२ वटा सडक र ४३ वटा सडक पुल रहेका छन् । यसमध्ये १३ वडा सडक र ११ वटा पुल निर्माणको काम सम्पन्न भएको छ । सम्पन्न हुन बाँकी सडक ५८ र पुल ३५ वटा छन् ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!